बालेन प्रधानमन्त्री नियुक्त भएपछि पुर्ख्यौली गाउँमा खुसीयालीको लहर

जनकपुरधाम I राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) देशको कार्यकारी प्रमुख (प्रधानमन्त्री) पदमा नियुक्त भई शपथ ग्रहण गरेसँगै उनको पुर्ख्यौली गाउँ महोत्तरीको एकडराबेलामा उत्सव छाएको छ। आफ्नै गाउँको सन्तान मुलुकको सर्वोच्च कार्यकारी पदमा पुगेको खुसीमा स्थानीय बासीले एक–अर्कालाई मिठाई बाँड्दै र अबिर दलेर खुसीयाली साटासाट गरिरहेका छन्।
गाउँमा पर्वजस्तै माहोल
प्रधानमन्त्री नियुक्त भएको खबर सार्वजनिक भएलगत्तै एकडराबेलाका स्थानीय बासिन्दा स्वतःस्फूर्त रूपमा सडकमा निस्किएर खुसी मनाइरहेका छन्। ६० वर्षीय स्थानीय रामध्यान शाहका अनुसार, बालेन्द्र प्रधानमन्त्री बन्नु सिङ्गो गाउँकै लागि गौरवको विषय हो। “आज गाउँमा मिठाई मात्र बाँडिएको छैन, साँझ प्रत्येक घरमा दीपावली गर्ने तयारीसमेत भएको छ,” उहाँले उत्साहका साथ बताउनुभयो ।
अर्का स्थानीय सत्यनारायण साहले बालेनको शपथ ग्रहणको खुसीयालीमा गाउँका हरेक घरमा आज साँझ दीप प्रज्वलन गरिने जानकारी दिनुभयो ।

शिक्षा र पूर्वाधार विकासको आशा
मधेसी मूलको व्यक्ति पहिलो पटक नेपालको प्रधानमन्त्री बनेकोमा सिङ्गो मधेस क्षेत्रमा खुसी देखिए पनि एकडराबेलावासीको अपेक्षा अझ बढी छ। प्रधानमन्त्री बालेन्द्रका ठूलोबुबाका छोरा (काका) अरुण कुमार शाहले बालेन्द्र बाल्यकालदेखि नै तीक्ष्ण बुद्धिका रहेको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “उनी देशकै परिवर्तनका संवाहक हुन्। अब उनले शिक्षा, स्वास्थ्य र पूर्वाधारको विकासका साथै मुलुकको आर्थिक रूपान्तरणमा ठूलो योगदान दिनेमा हामी विश्वस्त छौँ।”
बालेन्द्र काठमाडौँमा हुर्किए पनि प्रतिनिधि सभा निर्वाचनको प्रचारप्रसारका क्रममा गाउँ आएको र गाउँसँग उहाँको भावनात्मक सम्बन्ध कायमै रहेको स्थानीयको भनाइ छ।

परोपकारी र सम्पन्न पारिवारिक पृष्ठभूमि
स्थानीय रामएकवाल पासवानका अनुसार बालेन्द्रको परिवार सुरुदेखि नै सम्पन्न र परोपकारी रहँदै आएको छ। बालेन्द्रको पैतृक सम्पत्तिको रूपमा रहेको ६०–७० बिघा जग्गामध्ये एक बिघा विभिन्न सामाजिक कार्यका लागि दान दिइएको छ भने कतिपय जग्गामा स्थानीयले अधियाँ (बटैया) खेती गरेर गुजारा चलाउँदै आएका छन्। हाल उहाँको पैतृक घरमा एकडराबेला गाउँपालिकाको कार्यालय समेत सञ्चालनमा छ।
बालेन्द्रको परिवारलाई नजिकबाट चिन्ने शैल देवीले ‘बालम बौवा’ (बालेन्द्र) प्रधानमन्त्री भएको खबरले आफूलाई सन्तानले सफलता पाए जस्तै खुसी लागेको बताउनुभयो । उहाँले बालेन्द्रका हजुरबुबा र बुबाको पालादेखि नै यो परिवार अत्यन्तै शालीन र सहयोगी रहेको स्मरण गर्नुभयो ।
परिवर्तनको चाहना
‘जेन्जी’ (Gen-Z) आन्दोलनपछिको निर्वाचनबाट आम नेपालीको रोजाइमा परेका बालेन्द्रले काठमाडौँ महानगरपालिकाको प्रमुखका रूपमा देखाएको कार्यकुशलता अब प्रधानमन्त्रीका रूपमा देशैभरि देख्न पाइनेमा एकडराबेलावासी आशावादी छन्। गाउँलेहरूको एउटै चाहना छ— बालेन्द्रले अब देशको मुहार फेर्ने गरी काम गर्नुहाेस ।







प्रतिक्रिया राख्नुहोस्