एसइईको तयारी तीव्र, ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी हुने

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले चैत १९ देखि सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को तयारी तीव्र गतिमा भइरहेको जनाएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले एसइईको तयारी तीव्र रुपमा भइरहेको बताउँदै चैत्र १४ गतेसम्म सबै जिल्लामा परीक्षाका लागि प्रश्नपत्र, सिम्बोल नम्बर, उत्तर पुस्तिका र अन्य आवश्यक सामग्री पुर्याई सकिने जानकारी दिनुभयो ।
बोर्डका अनुसार यस वर्षको एसइई परीक्षामा ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी हुने भएका छन् ।
गतवर्ष २०८१ को एसइई परीक्षामा पाँच लाख १४ हजार ७१ जना सहभागी भएका थिए ।
कुल परीक्षार्थीमा दुई लाख ५७ हजार ६१३ छात्रा र दुई लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना रहेका छन् ।
यस वर्षको एसइईमा सहभागी हुने विद्यार्थी गत वर्षको तुलनामा घटेका छन् ।
यस वर्ष एसइईमा सहभागी हुने विद्यार्थीमध्ये ७० हजार ८५५ ग्रेड वृद्धि तर्फ रहेका छन् । त्यस्तै जापानबाट २३ विद्यार्थीले एसइई दिने भएका छन् ।
यस वर्षको एसइई परीक्षाका लागि देशभर एक हजार ९ सय ६६ परीक्षा केन्द्र निर्धारण गरेको परीक्षा नियन्त्रक अधिकारीले बताउनुभयो ।
परीक्षा व्यवस्थित र सुरक्षित बनाउन नेपाल प्रहरीले देशभर करिब १२ हजार पाँच सय सुरक्षाकर्मी खटिने बोर्डले जनाएको छ ।
परीक्षालाई मर्यादित बनाउन चारै वटा सुरक्षा निकाय सम्मिलित केन्द्रीय सुरक्षा समितिसँग र जिल्ला जिल्लामा परीक्षा समन्वय समितिमार्फत आवश्यक सबै प्रक्रिया भइरहेको परीक्षा नियन्त्रक अधिकारीले बताउनुभयो ।
चैत १९ गतेदेखि २९ गतेसम्म देशभर एकसाथ बिहान ८ बजेदेखि परीक्षा सञ्चालन हुनेछ ।
फागुन २१ गतेको प्रतिनिधिसभाको निर्वाचनका कारण एसइई परीक्षा गतबर्षको भन्दा दुई साता पछि सारिएको हो । एसइईको नतिजा असारको तेस्रो साता प्रकाशन गर्ने योजना रहेको बोर्डले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्