सेवा लिन होइन, सेवा नै घरमै : राक्सिराङको अभियान प्रभावकारी
मकवानपुर।मकवानपुरको राक्सिराङ गाउँपालिकाले दुर्गम बस्तीका नागरिकलाई सहज रूपमा सेवा पुर्याउने उद्देश्यले एकीकृत घुम्ती शिविर सञ्चालनमा ल्याएको छ। नेपालकै गरिब गाउँपालिकामध्ये एक मानिने राक्सिराङले आफ्नै वडाबाट सबै सेवा–सुविधा उपलब्ध गराउने लक्ष्यसहित कार्यक्रम वडा नं. १ बाट सुरु गरेको हो।
यस अभियानको एउटा मार्मिक झलक ११८ वर्षीया ज्येष्ठ नागरिक सेतीमाया पाख्रिनको घरमा देखिएको छ। गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लसहितको टोली उनको घरमै पुगेर स्वास्थ्य परीक्षण तथा भेटघाट गर्दा सेतीमायाको अनुहारमा देखिएको मुस्कानले कार्यक्रमको सार्थकता झल्काएको थियो।
राक्सिराङमै जन्मिएकी सेतीमायाको नागरिकता अनुसार उनको जन्म सन् १९०६ मा उल्लेख छ। उमेरका हिसाबले उनी अहिले ११८ वर्ष पुगेकी छन्। जीवनका अनेक उतारचढाव पार गर्दै उनी आज पनि गाउँमै सामान्य जीवन बिताइरहेकी छन्।
उनको जीवन कथा झनै रोचक छ। चन्द्रबहादुर वाइबाले ११५ वर्षको उमेरमा सेतीमायासँग दोस्रो विवाह गरेका थिए। पहिलो श्रीमती बितिसकेपछि र सेतीमायालाई छोराहरूबाट उचित हेरचाह नपाएको अवस्थामा उनले उनलाई घरमा ल्याएर जीवनसाथी बनाएका थिए। “यो निर्णयप्रति म सधैं खुसी छु,” चन्द्रबहादुरले मुस्कुराउँदै भने। उनी सेतीमायाभन्दा करिब ३० वर्ष कान्छा छन्।
हाल उनीहरूको हेरचाह चन्द्रबहादुरका छोराले गरिरहेका छन्। गाउँपालिकाको टोली घरमै पुगेर सेवा दिएपछि वाइबा दम्पति थप उत्साहित देखिएका छन्।
गाउँपालिकाका अध्यक्ष मल्लका अनुसार घुम्ती शिविरको मुख्य उद्देश्य नै यस्तै असहज अवस्थामा रहेका नागरिकसम्म सेवा पुर्याउनु हो। “अब सेवा लिन गाउँपालिकासम्म धाउनुपर्ने अवस्था हटाउँदैछौं, सेवा नै जनताको घरदैलोमा ल्याएका छौं,” उनले बताए।
गाउँपालिकाले सञ्चालन गरेको यो अभियानले सेवा प्रवाह मात्र होइन, यस्ता प्रेरणादायी जीवन कथाहरूलाई समेत उजागर गरिरहेको छ।








प्रतिक्रिया राख्नुहोस्