तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्जमा भूमिहीनका लागि जग्गा नापजाँच सुरु

बाँके। भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने उद्देश्यसहित बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा जग्गा नापजाँच कार्य सुरु गरिएको छ ।

भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेका अध्यक्ष घननाथ खनालका अनुसार सोमबारदेखि नेपालगञ्ज उपमहानगरपालिका–२१ पुरैनाबाट प्राविधिक टोली खटाएर नापजाँच कार्य औपचारिक रूपमा अघि बढाइएको हो । उहाँले लामो समयदेखि अन्योलमा रहेको भूमिहीन समस्याको समाधानतर्फ यो महत्वपूर्ण कदम भएको बताउनुभयो ।

नापजाँच कार्यका लागि उपमहानगरपालिकाले आवश्यक समन्वय र सहयोग गरिरहेको जनाइएको छ । यसअघि सरकारको निर्णयअनुसार जिल्ला भूमि आयोग खारेज भएपछि प्रक्रिया अवरुद्ध बनेको थियो । तर सर्वोच्च अदालतले उक्त निर्णय बदर गरेसँगै आयोगले पुनः काम अघि बढाएको हो ।

नेपालगञ्ज–२१ पुरैनामा आयोजित कार्यक्रममा नगरप्रमुख प्रशान्त विष्टले भूमिहीन समस्या समाधानका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले वर्षौँदेखि समाधान हुन नसकेको समस्या अन्त्य गर्न निरन्तर प्रयास जारी रहने उल्लेख गर्नुभयो ।

स्थानीय तह र भूमि आयोगको सहकार्यमा सुरु गरिएको अभियानले भूमिहीन नागरिकलाई कानुनी स्वामित्व दिलाउने र उनीहरूको जीवनस्तर सुधार गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button