तपाईँ सुन्दै हुनुहुन्छः

हेलिकप्टरमार्फत उद्धार गरिएकी सुत्केरी आमा र नवजात शिशुको मृत्यु

बाजुरा । बाजुराबाट हेलिकप्टरमार्फत उद्धार गरिएकी सुत्केरी आमा र उनका नवजात शिशुको उपचारका क्रममा मृत्यु भएको छ।

बडीमालिका नगरपालिका–१ सल्लेनाकी २१ वर्षीया सुरता कुमारी रोकाया र उनकाे नवजात शिशुकाे सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हाे ।

मंगलबार राति सुत्केरी भएकी रोकायालाई अत्यधिक रक्तस्राव र श्वासप्रश्वासमा समस्या देखिएको थियो। स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि जिल्ला अस्पताल बाजुराका चिकित्सकहरूले उहाँलाई सुविधासम्पन्न अस्पतालमा तत्काल रिफर गर्न सिफारिस गर्नुभएकाे थियाे।

जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वयमा ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत रोकायालाई हेलिकप्टरमार्फत सुर्खेत उद्धार गरिएको थियो। उद्धारपछि उहाँलाई कर्णाली प्रदेश अस्पतालमा आईसीयूमा भर्ना गरी उपचार थालिएको थियो। तर उपचारकै क्रममा आमा र नवजात शिशु दुवैको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी लक्षमण पुडासैनीले जानकारी दिनुभयो।

चिकित्सकहरूका अनुसार, रोकाया मुटुसम्बन्धी समस्यामा जुदिरहनुभइरहेकाे थियाे र उहाँलाई दोस्रो सन्तान नजन्माउन चिकित्सकहरुले सल्लाह दिएका थथए । पुनः गर्भवती भएपछि उहाँको अवस्था उच्च जोखिममा थियो।

दुर्गम भौगोलिक अवस्थाका कारण बाजुरामा समयमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन चुनौती कायम छ। यस अवस्थामा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको निःशुल्क हवाई उद्धार सेवा प्रभावकारी भए पनि समयमै विशेषज्ञ उपचार नपुग्दा ज्यान गएको चिकित्सकहरूले बताएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button