तपाईँ सुन्दै हुनुहुन्छः

दाउन्ने क्षेत्रको सडक अझै सहज रुपमा सञ्चालन हुन सकेन

नवलपरासी । बुटवल–नारायणगढ सडकअन्तर्गत दाउन्ने क्षेत्रको सडक अझै सहज रुपमा सञ्चालन हुन सकेको छैन ।

शुक्रबारदेखि परेको पानीका कारण सडक चिप्लो र हिलाम्मे बनेपछि सवारी आवागमन सहज हुन नसकेको हो । दाउन्ने पहाड क्षेत्रमा सडक विस्तारसँगै मर्मत कार्य भइरहेको र अविरल बर्षाका कारण  सडकको अवस्था बिग्रिएको हो । 

बर्दघाटदेखि दाउन्ने बजारसम्म भने सवारी साधन सामान्य रुपमा सञ्चालन भइरहेको छ । विशेषगरी पूर्वतर्फको क्याप्टेन डाँडा र ६४ मोड क्षेत्रमा सडकको अवस्था बिग्रिएको छ । सोही क्षेत्रको यात्रा कठिन बनेको प्रहरीले जनाएको छ ।

आवागमन ठप्प नभएको तर सवारी साधन चिप्लिदा समयमै गन्तव्यतर्फ जान सक्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका प्रहरी निरीक्षक विरेन्द्र गुरुङले रेडियो नेपाललाई जानकारी दिनुभयो । यात्रुलाई खान र बस्न सहज हुने ठाउँसम्म सवारी पुर्‍याउन प्रयत्न भइरहेको उहाँले बताउनुभयो ।

सडक चिप्लो भएकै कारण हिजोदेखि तीन रातका लागि ठूला मालवाहक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । भने यात्रुवाहक सवारी साधनलाई पालो मिलाएर एकतर्फी रुपमा सञ्चालन गरिँदै आइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपी वीरदत्त पन्तले जानकारी दिनुभयो 

बर्दघाटदेखि सडक मर्मत भइरहेको दुम्किवाससम्मको दुरी १४ किलोमिटर छ ।  सडक सहज हुन नसक्दा उक्त दुरी पार गर्न झन्डै ४ घण्टा बढी समय लाग्ने गरेको प्रहरीले जनाएको छ ।  दुवैतर्फको सडक सहज हुन भने समय लाग्ने प्रहरीले अनुमान गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button