तपाईँ सुन्दै हुनुहुन्छः

भारतका अक्षय कुमारलाई २१ औँ खुल्ला नेपाल प्याराग्लाइडिङ प्रतियोगिताको उपाधि

पोखरा । नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा पोखरामा सम्पन्न २१औँ खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप–२०२६ को उपाधि भारतका अक्षय कुमारले जित्नुभएको छ । पोखराको सराङकोटबाट उडान गरी खपौदीमा निर्धारित बिन्दु नजिक पुग्दै ७ अङ्कसहित भारतका कुमारले उपाधि जित्नुभएको हो ।

चीनका झोउ चेन ७ अंक ल्याए पनि उहाँ उत्कृष्ट प्रदर्शनका आधारमा दोस्रो हुनुभयो । भारतका इमान रम्तेल ८ अङ्कका साथ तेस्रो हुनुभयो । नेपालका पवन परियार र अर्जुन जलारीले समान ११ अंक ल्याउँदै प्रदर्शनका आधारमा परियार छैटौँ र जलारी सातौं स्थानमा आउन सफल हुनुभयो ।

प्रतियोगिता अन्तर्गत तेस्रो दिन आज (शनिबार) प्रतिकुल मौसम पानी परेका कारण आजका खेलहरू स्थगित भएका थिए । शुक्रबार दिउँसोदेखि परेको पानी शनिबार बिहानदेखि दिउँसो पनि परेकोले शनिवारका खेलहरू स्थगित भएको प्रतियोगिताका संयोजक सुनिल भट्टराईले बताउनुभयो । यस अघि दुई दिन भएको खेलको आधारमा त्यसको आधार मानी नतिजा सार्वजनिक गरिएको हो ।

बिहीबार र शुक्रवारको नतिजाको आधारमा आयोजना हवाई खेलकुद संस्था (ना) ले दिएको अंक तालिका अनुसार एक्यूरेसी महिला एकलतर्फ को विधामा चीनकी कोङ सियाङ यान प्रथम हुनुभयो । पाँच राउन्डसम्मको प्रतिस्पर्धामा उहाँले ७ अङ्कसहित प्रथम हुनुभएको हो । नेपालकी दुर्गा माया गुरुङ १२६ अङ्कसहित दोस्रो हुँदा भारतकी श्रेयशी तामाङ १४९ अङ्कसहित तेस्रो हुनुभयो । त्यसैगरी, नेपालकी इस्का राई ३५४ अङ्कसहित चौथो स्थानमा रहँदा कृषु पौडेल ५२६ अङ्कसहित पाँचौँ स्थानमा रहनुभयो । महिलातर्फ १० जना खेलाडीबिच प्रतिस्पर्धा भएको प्रमुख प्राविधिक बिमल अधिकारीले बताउनुभयो ।

एक्यूरेसी टिम इभेन्टतर्फ भारतीय मिक्स टिम (वर्कला) विजयी भएको छ । ११ टोली सहभागी रहेको प्रतिस्पर्धामा ३८ अङ्कसहित राहुल राई, अक्षय कुमार, मोहन सिंह, मनिस उप्रेतीको समूह प्रथम भयो ।

इन्डो–नेपाल संयुक्त टोली ६७ अङ्कसहित दोस्रो भयो । टिम नेपाल १०९ अङ्कसहित तेस्रो भयो । अर्को नेपाली टोली १६० अङ्कसहित चौथो स्थानमा छ ।

पाँच राउन्डका खेल सम्पन्न भएकोले त्यस पछि मौसम तथा हावाको अवस्थाले खेलमा प्रभाव पारेकोले त्यसका आधारमा नतिजा घोषणा गरिएको ना का अध्यक्ष अनिल केसीले बताउनुभयो । प्रतियोगितामा नेपाल, भारत, इटाली, जर्मनी र चीनका गरी ५ देशका ६२ खेलाडी सहभागी हुनुहुन्थ्यो । जसमा पुरुषतर्फ ५२ र महिलातर्फ १० जना सहभागी हुनुभएको हो ।

प्रतियोगितामा पुरुष व्यक्तिगततर्फ विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । समूहतर्फ विजेताले ७५ हजार, उपविजेताले ५० हजार र तेस्रो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गरे । महिलातर्फ विजेताले ७५ हजार, उपविजेताले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button