आलुले बजार नपाउँदा बाराका किसान चिन्तित
वीरगञ्ज । बाराको सिम्रौनगढ क्षेत्रमा उत्पादित आलुले बजार नपाउँदा किसान चिन्तित बनेका छन् ।
सस्तो मूल्यमा भारतबाट आयातित आलुले बजार लिँदा नेपाली आलु किसानहरु बजार अभावको कारण सङ्कटमा परेका हुन् ।

बाराको सिम्रौनगढ खजानी, अमृतगंज, जानकी नगर, झवानी, कमलपुर, पर्सा, सतुवाही, अमरपुर, हरिहरपुर, सलेमपुर, देवापुर टेटा, गङ्गा नगर, कोतवाली इँटवाल, नैका टोला लगायत पचरौता क्षेत्रका किसानहरुले यसबर्ष करिब १५ सय बिगाहामा आलु खेती गरेका थिए ।
बारा खजानीका किसान उपेन्द्र साहले प्रतिक्विन्टल २५ सय देखि ३६ सय रुपैयाँमा आलुको बीउ खरिद गरी मल, विषादी र अन्य खर्च जोड्दा कम्तीमा दुई हजार रुपैयाँ प्रति क्विन्टलमा बिक्री भए मात्र नाफा हुने अवस्थामा हाल बजारमा आलुको मूल्य घटेर मुस्किलले एक हजार देखि १२ सय रुपैयाँ प्रतिक्विन्टलमा बिक्री गर्न बाध्य भएको हुँदा किसानहरुले लागत पनि उठाउन नसकेको गुनासो गर्नुभयो ।
चैते धान लगाउन खेत खाली गर्नुपर्ने दबाबका कारण किसानहरूले हाल आलु लगाएका खेत खाली गराउने क्रममा अहिले एकसाथ धेरै आलु उत्पादन हुँदा लागत मूल्य उठाउने अवस्था समेत नरहेको सिम्रौनगढका किसान छोटेलाल यादवले बताउनुभयो ।
खुल्ला सीमाको कारण सस्तो मूल्यमा भारतबाट भित्रिने आलुले वीरगन्ज लगायतको बजार प्रभावित पारेको हुँदा आफूहरूले बजार अभावको कारण आलु बिक्री गर्न नसकेको यादवले दुखेसो गर्नुभयो ।
हाल बारा तथा पर्सामा रहेका कोल्ड स्टोरेजहरू भरिएका कारण धेरै किसानले आलु घरमै भण्डारण गर्न बाध्य भएका छन् । आलु कुहिने जोखिम हुँदाहुँदै पनि केही किसानले भविष्यमा मूल्य बढ्ने आशामा घरमै राखिरहेको अमृतगञ्जका किसान सुनिल पण्डितले बताउनुभयो । बाराको सिम्रौनगढ क्षेत्रमा लालका, लाल गुलाब, शिव चालीस र कपुरी जातका आलु उत्पादन हुँदै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्