रौतहटमा असिनासहितको हावाहुरीले खेतीबाली सखाप, करोडौँको क्षति

रौतहट । शुक्रबार साँझ आएको भीषण हावाहुरीसँगको असिना पानीका कारण रौतहटमा ठूलो जनधन तथा कृषि क्षति भएको छ ।
असिनाले सर्वसाधारणका खपडा र टायलले छाएका घरमा व्यापक क्षति पुर्याउनुका साथै गहुँ, उखु, मसुरो, मकै तथा फलफूल एवं तरकारी खेतीमा करोडौँको नोक्सानी भएको हो ।
हावाहुरीको तीव्रताका कारण पाक्न लागेको गहुँ र घोगा लाग्ने क्रममा रहेको मकै बाली ढलेर नष्ट भएको स्थानीय किसानहरूले बताएका छन् । विशेषगरी खेतबालीमा ठूलो असर परेको छ, जसले किसानहरूलाई गम्भीर आर्थिक मार परेको छ ।
वृन्दावन नगरपालिका–१ का स्थानीय किसान राम अशिष राउतले गत सोमबार आएको हावाहुरीले आंशिक क्षति गरेको मकै शुक्रबारको भीषण हावाहुरीले पूर्ण रूपमा सखाप बनाएको बताउनुभयो । “पहिलेको हावाहुरीले केही ढालेको थियो, बाँकी रहेको मकै पनि अहिलेको असिनासहितको हावाहुरीले सबै नष्ट गरिदियो,” उहाँले भन्नुभयो ।
वृन्दावन जल उपभोक्ता समितिका सचिव सुरेन्द्रप्रसाद पटेलका अनुसार वृन्दावन क्षेत्रमा मात्रै करिब २०० बिघामा मकै खेती हुँदै आएको छ । तर शुक्रबार साँझको हावाहुरी र असिनाका कारण उक्त क्षेत्रमा मात्र १ करोड रुपैयाँभन्दा बढीको क्षति भएको उहाँले जानकारी दिनुभयो ।
यसैगरी चन्द्रपुर, गुजरा र फतुवा विजयपुर नगरपालिकामा पनि मकै खेतीमा व्यापक क्षति पुगेको छ । ती क्षेत्रमा समेत असिना पानी र हावाहुरीका कारण ठूलो परिमाणमा कृषि नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ ।
स्थानीय तह तथा सम्बन्धित निकायले क्षतिको विवरण सङ्कलन कार्य सुरु गरेका छन् भने पीडित किसानहरूले राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्