बर्षाले नेपालगञ्जमा ईदको सामूहिक नमाज प्रभावित, इदगाहमा न्यून उपस्थिति
नेपालगञ्ज । प्रतिकूल मौसमका कारण नेपालगञ्जस्थित बीपी चोकको इदगाहमा हरेक वर्ष आयोजना हुने ईदको सामूहिक नमाज यस वर्ष प्रभावित भएको छ।
शनिबार बिहानैदेखि परेको वर्षाका कारण इदगाहमा मुस्लिम समुदायको उपस्थिति न्यून देखिएको थियो। निरन्तर वर्षा भइरहेकाले धर्मगुरुहरूले श्रद्धालुहरूलाई आ–आफ्नो नजिकको मस्जिदमै नमाज अदा गर्न आग्रह गरेका छन्।
मुस्लिम समुदायले शनिबार देशभर विशेष नमाज पाठ गर्दै ईद-उल-फित्र पर्व मनाएका छन्। रमजान महिनाको समाप्तिसँगै मनाइने यस पर्वमा एकआपसमा शुभकामना आदानप्रदान गर्ने, ठूलाबडाबाट आशीर्वाद लिने तथा सानालाई माया दिने परम्परा छ।
ईदका अवसरमा आफन्त तथा पाहुनालाई सेवई, खजुर लगायतका परिकार खुवाउने चलन रहेको छ। साथै, गरिब तथा आवश्यकतामा रहेका व्यक्तिलाई दान दिने परम्पराका कारण यो पर्वलाई विशेष महत्वका साथ मनाइन्छ।
अरबी पात्रोअनुसार नवौँ महिनाको अन्त्यमा चन्द्रमा देखिएपछि ईद-उल-फित्र मनाउने गरिन्छ। दान र सहकार्यको भावनालाई प्रोत्साहन गर्ने यो पर्व मुस्लिम समुदायको प्रमुख धार्मिक उत्सवमध्ये एक हो।








प्रतिक्रिया राख्नुहोस्