कालिञ्चोक र शैलुङमा बाक्लो हिमपात, पर्यटकको चहलपहल बढ्यो
दोलखा । प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र कालिञ्चोकमा शुक्रबार साँझदेखि बाक्लो हिमपात भएको छ। यस वर्ष कालिञ्चोक क्षेत्रमा तेस्रो पटक हिमपात भएको हो।
शुक्रबार दिउँसो करिब ४ बजेदेखि राति १० बजेसम्म निरन्तर हिमपात भएको कुरीस्थित होटल व्यवसायीले जनाएका छन्। हाल त्यहाँ करिब आधा फिटसम्म हिउँ जमेको छ। शनिबार बिहानदेखि मौसम बदली रहेकाले थप हिमपातको सम्भावना रहेको स्थानीयले बताएका छन्।
हिमपातपछि कालिञ्चोक क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ। विशेषगरी शुक्रबार र शनिबार यहाँ आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ। ३,८४२ मिटर उचाइमा रहेको कालिञ्चोक मन्दिर धार्मिक आस्थाका साथै प्राकृतिक दृश्यावलोकनका लागि पनि प्रसिद्ध छ।
कालिञ्चोकबाट गौरीशंकर हिमश्रृङ्खला, दोलखा, सिन्धुपाल्चोक तथा चीनतर्फका हिमालहरू अवलोकन गर्न सकिन्छ। काठमाडौँबाट करिब १३३ किलोमिटर दूरीमा रहेको चरिखोट हुँदै कुरी पुगेर केबलकार वा पैदल मार्गबाट मन्दिरसम्म पुग्न सकिन्छ।
यस्तै, दोलखाकै अर्को पर्यटकीय तथा धार्मिक गन्तव्य शैलुङमा पनि शुक्रबार राति हिमपात भएको छ। ३,१४६ मिटर उचाइमा रहेको शैलुङ क्षेत्र ‘एक सय थुम्काको भूमि’का रूपमा परिचित छ। यहाँबाट हिमश्रृङ्खलाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ।
पछिल्लो समय शैलुङमा निर्माण गरिएको ‘ग्रेट वाल’ पर्यटकको आकर्षण बन्दै गएको छ। हिमपातसँगै दुवै क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको छ।








प्रतिक्रिया राख्नुहोस्