तपाईँ सुन्दै हुनुहुन्छः

स्कुल बसबाट खस्दा ९ वर्षीय बालकको मृत्यु

उदयपुर । उदयपुरको बेलका नगरपालिकामा गुडिरहेको स्कुल बसबाट खस्दा एक बालकको मृत्यु भएको छ ।

बेलका नगरपालिका–४ हरिपुर शिसवारीस्थित भित्री सडक खण्डमा जहडाबाट हरिपुरतर्फ जाँदै गरेको को १ ख ३५१६ नम्बरको बेलका बोर्डिङ स्कुलको बसबाट खस्दा ९ वर्षीय सफल बस्नेतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनी सोही विद्यालयमा अध्ययनरत विद्यार्थी रहेको समेत प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) निरञ्जन थापाका अनुसार बुधवार अपराह्न करिब ४ः४० बजे अचानक बसबाट खसेका सफललाई गम्भीर चोट लागेको थियो र घटनास्थलमै उनको ज्यान गएको पुष्टि भएको थियो ।

घटनाबारे सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि सुनसरीको धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ ।

घटनामा संलग्न बस चालक, बेलका नगरपालिका–८ सिसौलीका ३४ वर्षीय प्रेम तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button