‘शून्य फोहोर’ अवधारणाले नेपालगञ्जमा रहेका विद्यालयको वातावरण बदलिँदै
बाँके । नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा सञ्चालन गरिएको ‘शून्य फोहोर कार्यक्रम’ प्रभावकारी देखिएको निष्कर्ष निकाल्दै सरोकारवालाहरूले यसको दिगोपनामा विशेष जोड दिएका छन्।
बुधबार आयोजित समीक्षा कार्यक्रममा सहभागीहरूले उक्त कार्यक्रमले विद्यालयको वातावरणीय सुधार, फोहोर व्यवस्थापन प्रणालीको सुदृढीकरण तथा विद्यार्थीहरूको व्यवहार परिवर्तनमा महत्वपूर्ण योगदान पुर्याएको बताएका छन्।

द कोकाकोला फाउन्डेसनको आर्थिक सहयोगमा बास नेपाल र स्वच्छ सफा नेपाल (क्लिन अप नेपाल) द्वारा सञ्चालित ‘ग्रीन नेपालगञ्ज सामुदायिक फोहोर रूपान्तरण परियोजना’ अन्तर्गत विद्यालयहरूमा लागू गरिएको कार्यक्रमको उपलब्धि, सिकाइ र चुनौतीबारे विस्तृत छलफल गरिएको थियो।
नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्ख बहादुर थापाले कार्यक्रमले विद्यालय तहमा सचेतना अभिवृद्धि गर्दै सिकाइको महत्वपूर्ण आधार तयार गरेको बताए। अब सिकाइलाई व्यवहारमा उतार्ने समय आएको उल्लेख गर्दै उनले विद्यार्थी, शिक्षक र विद्यालय प्रशासन सबैको सक्रिय भूमिका आवश्यक रहेको बताए। उपमहानगरपालिकाबाट नीतिगत तथा प्राविधिक सहयोग निरन्तर रहने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो।
सामाजिक विकास अधिकृत कृष्ण प्रसाद जोशीले कार्यक्रमले बालबालिकामा सानैदेखि सरसफाइ, फोहोर वर्गीकरण र पुनः प्रयोगसम्बन्धी व्यवहारिक सीप विकास गराएको बताए। विद्यालयलाई सामाजिक परिवर्तनको आधारका रूपमा प्रयोग गर्दै यस्ता कार्यक्रमलाई दीर्घकालीन रूपमा अघि बढाउनुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा सहभागी विद्यालयका प्रतिनिधिहरूले पनि सकारात्मक अनुभव साझा गरेका थिए। ज्ञान सागर माध्यमिक विद्यालयका प्रधानाध्यापक होमनाथ खड्काले कार्यक्रमले फोहोर व्यवस्थापन प्रणालीलाई व्यवस्थित बनाउनुका साथै विद्यार्थीहरूमा जिम्मेवारी बोध विकास गरेको बताए। “पहिले जताततै फोहोर फालिने अवस्था थियो, अहिले विद्यार्थीहरूले आफैँ वर्गीकरण गरी व्यवस्थापन गर्न थालेका छन्,” उनले भने।
जय जनता माध्यमिक विद्यालय, थपुवाकी शिक्षिका शान्ति गौतमले कार्यक्रमले विद्यार्थीहरूको व्यवहारमा उल्लेखनीय परिवर्तन ल्याएको बताउँदै ‘शून्य फोहोर’ अवधारणालाई विद्यालय संस्कृतिका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याइन्।
विद्यार्थीहरूले पनि प्लास्टिक प्रयोग घटाउने, फोहोर छुट्याएर व्यवस्थापन गर्ने, पुनः प्रयोग र पुनर्चक्रणमा जोड दिने अभ्यास आफूहरूले विद्यालयसँगै घरमा समेत अपनाउन थालेको अनुभव सुनाएका थिए। यसले समुदायस्तरमा समेत सकारात्मक सन्देश प्रवाह भएको सहभागीहरूको भनाइ थियो।
बास नेपालका कार्यक्रम अधिकृत रवीन्द्र बोहराले प्रस्तुतीकरणमार्फत कार्यक्रमको उद्देश्य, कार्यान्वयन प्रक्रिया, उपलब्धि तथा आगामी योजनाबारे जानकारी गराएका थिए। कार्यकारी निर्देशक नमस्कार शाहले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए भने समापन बास नेपालकी केन्द्रीय महासचिव कल्पना अधिकारीले गरेकी थिइन्।
समग्रमा, ‘शून्य फोहोर कार्यक्रम’ले विद्यालय स्तरबाटै दिगो वातावरणीय व्यवहार विकास गर्ने आधार तयार पारेको निष्कर्ष निकाल्दै यसको निरन्तरता र संस्थागत विकासमा जोड दिइएको छ।








प्रतिक्रिया राख्नुहोस्