चित्लाङ र एपिएफ एफसी बीचको खेल गोलरहित बराबरीमा सम्पन्न
काठमाडौँ । एन्फा राष्ट्रिय लिगमा पुछारबाट तेस्रो स्थानमा रहेको चित्लाङ एफसीले उपाधिको दाबेदार एपिएफ एफसीलाई गोलरहित बराबरीमा रोकेको छ ।
आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा दुवै टोलीले पाएका अवसरहरूलाई सदुपयोग गर्न सकेनन् । बराबरीसँगै एपिएफले शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । ११औँ खेल सकिँदा एपिएफ २५ अङ्कका साथ दोस्रो स्थानमा छ ।
समान अङ्कका बाबजुद मच्छिन्द्र गोल भिन्नतामा अगाडि छ । यद्यपि मच्छिन्द्रले एक खेल कम खेलेको छ । यो नतिजासँगै चित्लाङले १२ खेलमा ८ अंक जोडेको छ ।
अर्को खेलमा जावलाखेलले काँक्रे बिहारलाई ४–१ गोलले हरायो । जितसँगै १० औँ स्थानमा रहेको जावलाखेलले १० खेलमा १३ अंक जोडेको छ । समान खेलमा काँक्रे बिहारको मात्र १ अंक छ ।
खेलमा काँक्रे बिहारले सुरुआती अग्रता लिएको थियो । दीपेन्द्र चुनाराले छैटौँ मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि जावलाखेलका लागि बौबाकर सिसोखोले १६औँ मिनेटमा बराबरी गोल फर्काए । दोस्रो हाफमा निकोलस ह्यामिल्टनले दुई तथा विकास दर्लामी मगरले एक गोल गरे ।








प्रतिक्रिया राख्नुहोस्