तपाईँ सुन्दै हुनुहुन्छः

इन्धन मौज्दात जाँच्न बाँकेमा पेट्रोल पम्प अनुगमन सुरु

बाँके।मध्यपूर्व क्षेत्रमा जारी युद्धका कारण पेट्रोलियम पदार्थ तथा ग्यास आपूर्तिमा सम्भावित असर पर्ने आशंकापछि बाँकेका पेट्रोल पम्पहरूमा स्थानीय प्रशासनले निगरानी बढाउँदै अनुगमन सुरु गरेको छ।

जिल्ला प्रशासन कार्यालय बाँकेको नेतृत्वमा प्रहरी प्रशासन र नेपाल आयल निगमका प्रतिनिधि सम्मिलित टोलीले शनिबार जिल्लाका पेट्रोल पम्पहरूको अनुगमन गर्दै पेट्रोलियम पदार्थको मौज्दात र भण्डारण अवस्थाबारे जानकारी लिएको हो।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी पूर्णबहादुर खत्रीका अनुसार जिल्लामा रहेका ४१ पेट्रोल पम्पमध्ये शनिबार ३४ वटा पम्पमा अनुगमन गरिएको छ। बाँकी पम्पमा पनि निरन्तर अनुगमन गरिने उनले बताए।

उनका अनुसार पेट्रोलियम पदार्थको मौज्दात अवस्थालाई स्पष्ट रूपमा ट्र्याक गर्न इन्भेन्टरी मनिटरिङ तथा रेकर्ड किपिङ प्रणाली सुरु गरिएको छ।

“इन्भेन्टरी रेकर्ड सुरु गरिएको छ। जिल्लाका सबै पेट्रोल पम्पमा कति इन्धन मौज्दात छ, कति बिक्री भयो र कति थप आवश्यक छ भन्ने विवरण नियमित रूपमा अभिलेख राखिने व्यवस्था गरिएको छ,” सहायक प्रमुख जिल्ला अधिकारी खत्रीले बताए।

अनुगमन टोलीले प्रत्येक पेट्रोल पम्पबाट उपलब्ध इन्धनको मात्रा, दैनिक बिक्री र आपूर्तिको अवस्थासम्बन्धी तथ्यांक संकलन गरेको छ। यसबाट माग र आपूर्तिको वास्तविक अवस्था बुझ्न र अनावश्यक भण्डारण हुन नदिन सहयोग पुग्ने प्रशासनको भनाइ छ।

मध्यपूर्वमा बढ्दो तनावका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित हुन सक्ने अनुमान गरिएपछि सम्भावित अभावको त्रासमा अनावश्यक भण्डारण हुन नदिन प्रशासनले अनुगमन तीव्र बनाएको हो।

यसैबीच नेपाल आयल निगमले पनि शनिबार विज्ञप्ति जारी गर्दै मुलुकमा पेट्रोलियम पदार्थको नियमित आपूर्ति भइरहेको स्पष्ट पारेको छ।

एलपी ग्यासबारे निगमको पाँच बुँदे निर्देशन

नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको अनावश्यक भण्डारण नगर्न विक्रेता तथा उपभोक्तालाई आग्रह गरेको छ।

निगमका अनुसार हाल आपूर्ति प्रणाली व्यवस्थित राख्न आधा सिलिन्डर ग्यास उपलब्ध गराउने व्यवस्था गरिएको छ। अर्को व्यवस्था नभएसम्म उद्योगहरूले ७.१ केजी ग्यास ९५५ रुपैयाँमा बिक्री गर्नुपर्ने व्यवस्था गरिएको छ।

त्यसैगरी देशभरिका ग्यास उद्योगीलाई आफ्ना विक्रेताको नाम, ठेगाना, सम्पर्क नम्बर तथा दैनिक बिक्रीको मात्रा हरेक दिन बिहान १० बजेसम्म सार्वजनिक गरी निगमलाई जानकारी गराउन निर्देशन दिइएको छ।

निगमले घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकतामा राखेर ग्यास बिक्री–वितरण गर्न पनि आग्रह गरेको छ।

“आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न उपभोक्तालाई पुनः अनुरोध गर्दछौँ,” निगमको विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button