बैतडीमा दुई हजार बढी किशोरीलाई एचपीभी खोप

बैतडी । बैतडीमा दुई हजार बढी किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप दिइएको छ ।
गएको माघ २७ देखि फागुन २ गतेसम्म जिल्लामा सञ्चालन भएको एचपीभी खोप अभियान अन्तर्गत २ हजार ७९ जना किशोरीहरूलाई खोप दिइएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र कार्कीले बताउनुभयो ।
नेपाल सरकारले यो वर्षदेखि एचपीभी खोपलाई नियमित खोपको रुपमा समावेश गरिसकेको स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिनुभयो। जिल्लामा २४ सय ५३ जना किशोरीहरूलाई खोप दिने लक्ष्य रहेकोमा २ हजार ७९ जनालाई खोप दिइएको उनले बताएका छन् ।
यो बर्ष कक्षा ६ मा अध्ययनरत किशोरी, विद्यालय बाहिर रहेका १० बर्ष उमेर समूहका किशोरी र गत वर्षको अभियानमा छुटेका कक्षा ७ देखि १० सम्म अध्ययनरत किशोरीहरूलाई खोप दिइएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले जानकारी दिए ।
जिल्लाको दशरथचन्द नगरपालिकामा २ सय २०, पाटन नगरपालिकामा २ सय १५, पुर्चौंडी नगरपालिकामा ४ सय ७८ र मेलौली नगरपालिकामा १ सय ८७ जना किशोरीहरूलाई खोप दिइएको सूचना अधिकारी कार्कीले बताउनुभयो ।
यस्तै डिलाशैनी गाउँपालिकामा २ सय ३४, दोगडाकेदार गाउँपालिकामा १ सय ७४, सुर्नया गाउँपालिकामा १ सय २७, सिगास गाउँपालिकामा १ सय ८१, शिवनाथ गाउँपालिकामा १ सय ७८ र पञ्चेश्वर गाउँपालिकामा ८५ जना किशोरीलाई खोप दिइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
गत बर्ष कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ बर्ष उमेर समूहका किशोरी गरेर १० हजार ३१० जनालाई एचपीभी खोप दिइएको थियो । नेपालमा पाठेघरको मुखको क्यान्सरबाट बर्षेनी महिलाहरूले ज्यान गुमाउनुपर्ने बाध्यता रहेकाले त्यो रोग लाग्नै नदिन खोप कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।








प्रतिक्रिया राख्नुहोस्