तपाईँ सुन्दै हुनुहुन्छः

रूपा गाउँपालिकामा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु

पोखरा । कास्कीको रूपा गाउँपालिकामा खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । पालिकाको स्थापना दिवसको अवसरमा राष्ट्रिय खेल भलिबलको विकास तथा स्थानीय खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले रूपा गाउँपालिका–६ भिरचोक प्रतियोगिता सुरु भएको हो ।

दुई दिनसम्म चल्ने प्रतियोगिताको उद्घाटन रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले गर्नुभयो । उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ओझाले प्रतियोगिताले स्थानीय स्तरमा खेल प्रतिभा पहिचान गर्न र राष्ट्रिय खेल भलिबलको विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । 

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारालाई आत्मसात गर्दै रूपा गाउँपालिकाले स्थापना दिवसको अवसरमा २०७५ सालदेखि निरन्तर रूपमा पुरुष भलिबल प्रतियोगिता आयोजना गर्दै आएको गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा गाउँपालिकाका सात वटै वडाका टोलीहरूको सहभागिता रहेको छ । 

प्रतियोगितामा प्रथम हुने टोलीलाई ५५ हजार ५५५ रुपैयाँ, द्वितीय हुनेलाई ३३ हजार ३३३ रुपैयाँ र तृतीय हुने टोलीलाई २२ हजार २२२ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यसैगरी उत्कृष्ट खेलाडीलाई ३ हजार रुपैयाँ, बेस्ट सेटरलाई २ हजार रुपैयाँ र बेस्ट स्पाइकरलाई १ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button