दुर्गम क्षेत्रमा स्वास्थ्य पहुँचको चुनौती: बाटोमै प्रसूति
बाजुरा। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर-२ मा एक गर्भवती महिलालाई अचानक सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्थासम्म पुग्न नसक्दा बाटोमै प्रसूति गराउनुपरेको छ।

स्वामीकार्तिक खापर गाउँपालिका–२ भैसागाडकी ती महिलालाई प्रसूति व्यथा बढेपछि गाउँबाट फयालगाउँ आधारभूत स्वास्थ्य इकाइतर्फ लैजाँदै गर्दा बीच बाटोमै बच्चा जन्मिएको हो। स्वास्थ्य संस्थासम्म पुर्याउन नसकिने अवस्था भएपछि स्वास्थ्यकर्मी विष्णा रोकायाले घटनास्थलमै पुगेर प्रसूति गराउनुभएको थियो।
व्यथा अत्यधिक बढेपछि बाटो छेउमा रहेको गाईगोठ नजिकै सुरक्षित रूपमा प्रसूति गराइएको थियो। स्वास्थ्यकर्मी रोकायाले आवश्यक सावधानी अपनाउँदै स्थानीयको सहयोगमा बच्चा जन्माउन सहयोग गर्नुभएको हो।
प्रसूति पछि आमा र नवजात शिशु दुवैको अवस्था सामान्य रहेको जनाइएको छ। स्थानीयका अनुसार अचानक व्यथा बढेपछि गर्भवती महिलालाई स्वास्थ्य चौकीसम्म पुर्याउन सम्भव नभएपछि तत्काल निर्णय गरेर त्यहीँ प्रसूति गराइएको हो।
यस घटनाले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पहुँचको समस्या अझै गम्भीर रहेको देखाएको स्थानीय दीपक बहादुर कडाराले बताउनुभयो । गाउँबाट स्वास्थ्य संस्था टाढा हुनु, यातायात सुविधा नहुनु तथा आकस्मिक अवस्थामा स्वास्थ्य सेवामा पुग्न कठिनाइ हुने समस्या यहाँका बासिन्दाले वर्षौँदेखि भोग्दै आएका छन्।







प्रतिक्रिया राख्नुहोस्