२१० दिन पछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापित परिवारले पुनः स्थापनाको माग राख्दै २१० दिनअघि सुरु गरेको अनशन आज अन्त्य गरेका छन् । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य दीपकराज बोहराको उपस्थितिमा विस्थापित परिवारले अनशन तोडेका हुन् ।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट निर्वाचित बोहराले विस्थापित परिवारको स्थायी बसोबासको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएपछि विस्थापित परिवारले अनशन अन्त्य गरेका हुन् ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज (तत्कालीन शुक्लाफाँटा आरक्ष) विस्तारका क्रममा विस्थापित भएका परिवारले विगत लामो समयदेखि पुनः स्थापनाको माग गर्दै आन्दोलन गर्दै आएका थिए । पछिल्लो समय विस्थापित परिवार कृष्णपुर नगरपालिका–२ वनहरा नजिक सडक छेउमा पाल टाँगेर निरन्तर अनशनमा थिए । उनीहरूले सरकार तथा सरोकारवाला निकायलाई समस्या समाधानका लागि दबाब दिँदै आएका थिए ।
नवनिर्वाचित प्रतिनिधिसभा सदस्य बोहराले विस्थापित परिवारको समस्या गम्भीर रहेकाले यस विषयलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले विगतमा गठन भएका विभिन्न आयोगले तयार पारेका प्रतिवेदन अध्ययन गरेर पुनः स्थापनाका लागि ठोस पहल गर्ने बताउनुभयो । “तपाईँहरूका समस्या धेरै वर्षदेखि समाधान हुनुपर्ने थियो, भएन”, उहाँले भन्नुभयो, “तपाईँहरूसँग थप छलफल, अन्तर्क्रिया गरेर समाधानको बाटो खोज्नेछु ।” सडकछेउमा बसेर अनशन गर्दा दुर्घटनाको जोखिमसमेत रहेको उल्लेख गर्दै उहाँले अनशन तोड्न आग्रह गर्नुभएको थियो ।
अनशन तोड्ने क्रममा आरक्ष विस्थापित सङ्घर्ष समितिका अध्यक्ष प्रेमदत्त भट्टले नवनिर्वाचित सांसद बोहरामाथि विश्वास गरेर आफूहरूले अनशन अन्त्य गरेको बताउनुभयो । “हामीले तपाईँलाई भरोसा गरेर संसद्मा पठाएका छौँ”, उहाँले भन्नुभयो, “विगतका सांसद र सरकारहरूले देखाएकोजस्तो व्यवहार दोहोरिनुहुँदैन भन्ने हाम्रो अपेक्षा छ ।”
भट्टका अनुसार आरक्ष विस्थापितको समस्या समाधान गर्न हालसम्म ३४ वटा आयोग गठन भए पनि ठोस उपलब्धि हासिल हुन सकेको छैन ।
भट्टका अनुसार विस्थापित परिवारको पुनः स्थापनामा कहिले वन ऐनले अवरोध गरेको बहाना देखाइयो भने कहिले सरकारको अस्थिरताका कारण समस्या समाधान हुन नसकेको बताइयो । उहाँले आफूहरू विस्थापित हुनुअघि पाँच बिघा जमिनका मालिक रहेको स्मरण गर्दै अहिले घरवारविहीन अवस्थासम्म आइपुगेको दुःखेसो व्यक्त गर्नुभयो ।
विस्थापित परिवारका अनुसार हालसम्म दुई हजार ४७३ परिवार विभिन्न शिविरमा बस्दै आएका छन् । उहाँहरू स्थायी पुनः स्थापनाको प्रतीक्षामा वर्षौँदेखि कठिन जीवन बिताउन बाध्य छन् । रासस








प्रतिक्रिया राख्नुहोस्