लुम्बिनीमा रास्वपा : २६ मध्ये २१ सिट जित्दै पहिलो शक्ति
रुपन्देही। लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका २६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २१ सिट जित्दै स्पष्ट बहुमतसहित पहिलो शक्ति बनेको छ । यसपटकको निर्वाचन परिणामले प्रदेशको राजनीतिक समीकरणमा ठूलो परिवर्तन देखिएको छ ।

निर्वाचन आयोगका अनुसार यसअघिका निर्वाचनमा नेपाली काँग्रेस, नेकपा एमाले, तत्कालीन नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तथा नागरिक उन्मुक्ति पार्टीको प्रतिनिधित्व रहँदै आएको लुम्बिनी प्रदेशबाट यसपटक भने रास्वपा, काँग्रेस, नेकपा र एमालेका उम्मेदवार मात्रै निर्वाचित हुनुभएको छ ।
घोषित परिणामअनुसार प्रदेशका २६ सिटमध्ये २१ सिटमा रास्वपाले विजय हासिल गरेको छ । नेपाली काँग्रेस र नेकपाले २–२ सिट जितेका छन् भने नेकपा एमालेले १ क्षेत्रमा मात्रै विजय हात पारेको छ ।
रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा रास्वपाले जित निकालेको छ । रुपन्देही–१ मा सुनिल लम्साल, क्षेत्र नम्बर २ मा सुलभ खरेल, ३ मा डा. लेखजंग थापा, ४ मा कन्हैया बानियाँ र ५ मा तौफिक अहमद खाँ निर्वाचित हुनुभएको छ ।
पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ मा रास्वपाका विक्रम खनाल तथा क्षेत्र नम्बर २ मा नरेन्द्रकुमार गुप्ता विजयी हुनुभएको छ । कपिलवस्तुको क्षेत्र नम्बर १ मा रास्वपाका मोहनलाल आचार्य र क्षेत्र नम्बर २ मा विक्रमसिंह थापा निर्वाचित हुँदा क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका अभिषेक प्रताप शाह विजयी हुनुभएको छ ।
दाङका तीन वटै निर्वाचन क्षेत्रमा पनि रास्वपाले प्रभाव जमाएको छ । दाङ–१ मा देवराज पाठक, २ मा रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्य र ३ मा कमल सुवेदी निर्वाचित हुनुभएको छ ।
गुल्मीका दुवै क्षेत्रमा रास्वपाले विजय हासिल गरेको छ । गुल्मी–१ मा सागर ढकाल र २ मा गोविन्द पन्थी निर्वाचित हुनुभएको छ ।
बर्दियामा क्षेत्र नम्बर १ मा रास्वपाका ठाकुरसिंह थारु विजयी हुनुभएको छ भने क्षेत्र नम्बर २ मा रास्वपाका श्रीधर पोखरेल विजयी नजिक रहनुभएको छ ।
बाँकेमा क्षेत्र नम्बर १ मा रास्वपाका सुरेशकुमार चौधरी र क्षेत्र नम्बर ३ मा खगेन्द्र सुनार निर्वाचित हुनुभएको छ । क्षेत्र नम्बर २ मा भने नेकपा एमालेका मोहम्मद इश्तियाक राई विजयी हुनुभएको छ ।
रुकुम पूर्वमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित हुनुभएको छ भने रोल्पामा नेकपाकै वर्षमान पुन विजयी हुनुभएको छ ।
प्युठानमा रास्वपाका सुशान्त वैदिक निर्वाचित हुनुभएको छ ।
पाल्पा क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका सन्दीप राना विजयी हुनुभएको छ भने पाल्पा–२ मा रास्वपाका माधवबहादुर थापा निर्वाचित हुनुभएको छ ।
यस्तै अर्घाखाँचीमा रास्वपाका हरिप्रसाद भुसाल विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्