तपाईँ सुन्दै हुनुहुन्छः

सवारी साधनको ठक्करबाट बालकको मृत्यु भएपछि चन्द्रपुरमा राजमार्ग अवरुद्ध

रौतहट । सवारी साधनको ठक्करबाट एक बालकको मृत्यु भएपछि रौतहटको चन्द्रपुर नगरपालिका–१ मा स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

गएराति सोही स्थानको मङ्गलपुरका १२ वर्षीय बालकलाई अज्ञात सवारी साधनले ठक्कर दिँदा घटनास्थलमै ज्यान गएको थियो । दुर्घटनामा संलग्न सवारी साधनको पहिचान हुन नसकेको तथा चालक पक्राउ नपरेको भन्दै आक्रोशित स्थानीयवासीले आइतबार बिहानदेखि राजमार्गमा चक्काजाम गरेका हुन् ।

चक्काजामका कारण करिब दुई घण्टादेखि पूर्वबाट पश्चिमतर्फ र पश्चिमबाट पूर्वतर्फ आवतजावत गर्ने सयौँ सवारी साधन राजमार्गमै रोकिएका छन् भने हजारौँ यात्रु अलपत्र परेका छन् ।

स्थिति नियन्त्रणमा लिन तथा अवरुद्ध राजमार्ग खुलाउन प्रहरी र स्थानीयवासीबीच छलफल भइरहेको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रहरी नायब उपरीक्षक रूपा लाबुङले अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जानकारी दिनुभयो । दुर्घटनामा संलग्न सवारी साधनको खोजी कार्य पनि तीव्र पारिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button