तपाईँ सुन्दै हुनुहुन्छः

सामूहिक कार्यबाट निर्वाचन सफल: गृहमन्त्री अर्याल 

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले अहिलेको चुनावी सरकारले निष्पक्ष रुपमा समयभित्रै निर्वाचन सफल पार्ने दायित्व पूरा गरेको बताउनुभएको छ ।

निर्वाचन आयोगमा आज भएको छलफलमा गृहमन्त्री अर्यालले यसअघिका निर्वाचनहरूको तुलनामा यस पटकको निर्वाचन अझ स्वच्छ र भयरहित वातावरणमा सम्पन्न भएको बताउनुभयो ।

गृहमन्त्री अर्यालले यसअघिका निर्वाचनमा कतिपय ठाउँमा पुन मतदान गर्नुपर्ने,मतदान प्रक्रिया स्थगित हुने,कतिपय ठाउँमा अरूको नाममा पनि मतदान गर्ने, बुथ क्याप्चर गर्ने खालका गतिविधि हुने गरेको भएपनि यो निर्वाचनमा त्यस्ता खालका कुनै पनि गतिविधि नभएको जानकारी गराउनुभयो ।

यो निर्वाचनमा एकिकृत सुरक्षा योजना बनाई काम गरेको बताउनुहुँदै गृहमन्त्री अर्यालले सरकार, सुरक्षा निकाय,निर्वाचन आयोग,राजनीतिक दल,सरोकारवाला र आम नागरिकको सामूहिक प्रयासबाट तोकिएकै मितिमा निर्वाचन सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो ।

छलफलमा कानून न्याय तथा संसदीय मामिला ,संस्कृति पर्यटन तथा नागरिक उड्डयन र उद्योग मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका अनिल कुमार सिन्हाले विषम परिस्थितिमा निर्माण भएको सरकारले राष्ट्रपतिबाट घोषणा भएको मितिमै निर्वाचन सफल पारेको बताउनुभयो ।

सुरक्षा निकायसँग न्यूनतम स्रोत साधन रहेको अवस्थामा पनि उपलब्ध स्रोत साधनका बिच दृढतापूर्वक निर्वाचन सफल बनाउन लागेको प्रति उहाँले प्रशंसा समेत गर्नुभयो ।

सरकारले निर्वाचन आयोग, राजनीतिक दल,नागरिक समाज लगायतसँग पटक पटक संवाद गरी एक किसिमको माहोल सिर्जना भएको र त्यसले गर्दा निर्वाचन तोकिएकै मितिमा सफलतापूर्वक सम्पन्न भएको मन्त्री सिन्हाले बताउनुभयो ।

मन्त्री सिन्हाले अव बन्ने नयाँ सरकारले देशमा सुशासन कायम गर्दै बिदेसिएका युवालाई देशमै रोक्ने गरी र देशको अर्थतन्त्र बलियो बनाउनेगरी काम गर्न सुझाव समेत दिनुभयो ।

छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारी,आयुक्तद्धय डा जानकी कुमारी तुलाधर र सगुन शम्सेर जबरा,आयोगका सचिव कृष्ण बहादुर राउत,प्रवक्ता नारायण प्रसाद भट्टराई,सुरक्षा निकायका प्रमुख लगायत उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button