तपाईँ सुन्दै हुनुहुन्छः

राप्रपा अध्यक्ष लिङ्देनलाई पराजित गर्दै झापा ३ मा रास्वपाका पाठक निर्वाचित

झापा । प्रतिनिधि सभा सदस्य पदको निर्वाचनअन्तर्गत झापा क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)–का उम्मेदवार प्रकाश पाठक निर्वाचित हुनुभएको छ । पाठकले निकटतम प्रतिस्पर्धी राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनलाई २१ हजार ३८० को फराकिलो मतान्तरले पराजित गर्दै पहिलो पटक सांसद बन्नुभएको हो ।

पाठकले ३८ हजार ६७४ मत प्राप्त गर्दा लिङ्देनले १७ हजार २९४ मत हासिल गनुभयो । २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा लिङ्देन विजयी हुनुभएको थियो । 

नेपाली कांग्रेसका राजेन्द्रकुमार घिमिरेले ८ हजार १९९, नेकपा एमालेका हरिबहादुर राजवंशीले ७ हजार ४९२, श्रम संस्कृति पार्टीका दीपक तिम्सिनाले ७ हजार ३३९ र नेकपाका डिल्लीराम घिमिरेले एक हजार ४५० मत प्राप्त गर्नुभयो ।

यस क्षेत्रमा १ लाख ४० हजार ८५७ मतदाता रहेकोमा ८८ हजार ५६१ मत खसेको थियो । त्यसमा ५६२९ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

विजयी पाठकलाई मुख्य निर्वाचन अधिकृत उमेश पाण्डेले विजेताको प्रमाणपत्र प्रदान गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button