तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा ५१.७४ प्रतिशत मतदान

तनहुँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँमा ५१.७४ प्रतिशत मत खसेको छ । जिल्लामा बिहीबार शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले दुई निर्वाचन क्षेत्र रहेको तनहुँमा एक लाख ३१ हजार ६२० जनाले मतदान गरेको जानकारी दिनुभयो । लम्सालका अनुसार ७१ हजार ३६९ महिला र ६० हजार २५१ जना पुरुषले मतदान गरेका छन् ।

विसं २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँमा ५५ प्रतिशत मत खसेको थियो । तनहुँ क्षेत्र न-१ अन्तर्गतका मतदान केन्द्रको मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय दमौलीमा र क्षेत्र न-२ अन्तर्गतका मतदान केन्द्रको मतपेटिका निर्वाचन अधिकृतको कार्यालय दुलेगौडामा सङ्कलन भइरहेको छ ।

क्षेत्र न-१ को मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालयमा र क्षेत्र न-२ को मतगणना निर्वाचन अधिकृतको कार्यालयमा गरिनेछ । सबै मतपेटिका आइसकेपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायले राससलाई जानकारी दिनुभयो । 

तनहुँका दुवै निर्वाचन क्षेत्रमा गरी २७ उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । तनहुँ क्षेत्र न- १ मा १६ र क्षेत्र न-२ मा ११ जना उम्मेदवार चुनावी दौडमा हुनुहुन्छ । जिल्लामा १४४ मतदानस्थल र ३०९ मतदान केन्द्र छन् । क्षेत्र न-१ मा ६९ मतदानस्थल र १५३ मतदान केन्द्र तथा क्षेत्र न-२ मा ७५ मतदानस्थल र १५६ मतदान केन्द्र रहेका छन् । 

निर्वाचनका लागि तनहुँमा दुई लाख ५४ हजार ३९७ मतदाता थिए । त्यसमध्ये पुरुषको सङ्ख्या एक लाख २३ हजार ४९१ र महिलाको सङ्ख्या एक लाख ३० हजार ९०६ जना रहेको छ । 

दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको यहाँ तनहुँ क्षेत्र न-१ तर्फ एक लाख २६ हजार ८८२ र र क्षेत्र न-२ तर्फ एक लाख २७ हजार ५१५ मतदाता कायम भएका छन् । क्षेत्र न-१ मा पुरुषको सङ्ख्या ६१ हजार ७७८ र महिलाको सङ्ख्या ६५ हजार १०४ रहेको छ । क्षेत्र न-२ मा पुरुषको सङ्ख्या ६१ हजार ७१३ र महिलाको सङ्ख्या ६५ हजार ८०२ रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button