सोलुखुम्बुमा ४८ प्रतिशत मतदान

सोलुखुम्बु I प्रतिनिधिसभा सदस्य निर्वाचनमा सोलुखुम्बुमा ४८.४३ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्लाका अनुगमन अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र अधिकारीका अनुसार जिल्लाभरका मतदान केन्द्रहरूबाट प्राप्त विवरणअनुसार कुल ८५ हजार ५१५ मतदाता रहेकामा ४१ हजार ४०१ जनाले मतदान गरेका छन् ।
हिमाली भेगको चिसो मौसम र दुर्गम भौगोलिक अवस्थाका बाबजुद मतदाताहरू मतदान केन्द्रसम्म पुगेर आफ्नो मताधिकार प्रयोग गर्न उत्साहित देखिएका थिए । जिल्लाका दुर्गम बस्तीहरूमा रहेका मतदान केन्द्रहरूमा पनि मतदाताको उपस्थिति उल्लेख्य रहेको निर्वाचन अधिकारीहरूले बताएका छन् ।
सदरमुकाम सल्लेरीसँग सडक सञ्जालबाट टाढा रहेका खुम्बु क्षेत्रबाट हेलिकप्टरमार्फत मतपेटिका सङ्कलन गर्नुपर्ने भएकाले केही मतपेटिकाहरू भोलि मात्रै ढुवानी हुने बताइएको छ । रासस








प्रतिक्रिया राख्नुहोस्