पर्सामा ४ बजेसम्म ५७ दशमलव ३७ प्रतिशत मत खस्यो
वीरगञ्ज । पर्सा जिल्लामा अहिले अपराह्न ४ बजेसम्ममा ५७ दशमलव ३७ प्रतिशत मत खसेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जिल्लाका ४ निर्वाचन क्षेत्रमा १ सय ६७ मतदान स्थलमा रहेका ४ सय ४१ मतदान केन्द्रमा अपराह्न ४ बजेसम्म शान्तिपूर्ण रुपमा मतदान भइरहेको र ५७.३७ प्रतिशत मत खसिसकेको बताउनुभयो ।
पर्सा जिल्लामा शान्तिपूर्ण रुपमा मतदान भइरहेको र मतदाताहरूको समेत उल्लेख्य रुपमा सहभागिता रहेको छ ।
आज सम्पन्न हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पर्सामा ३ लाख ५२ हजार ४ सय ८४ जना मतदाता रहेका छन् । पर्सामा ४ निर्वाचन क्षेत्रबाट राजनीतिक दल र स्वतन्त्र गरी ९७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।
पर्सामा रहेका सम्पुर्ण मतदान केन्द्रहरूमा नेपाली सेनासहितको उच्च सुरक्षा सतर्कता र कडा सुरक्षा व्यवस्था रहेको कारण मतदाताहरू निर्भिकताका साथ मतदानमा सहभागी भइरहेको जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख अनामिका रौनियारले बताउनुभयो ।
अहिले साँझ पनि मतदान केन्द्रहरूमा मतदाताहरूको बाक्लो उपस्थिति रहेको र मतदान गर्न लामबद्ध भएका छन् ।
दिउँसो १२ बजेदेखि ३ बजेसम्म गर्मीका कारण मतदान गर्ने मतदाताहरूको उपस्थिति पातलो भए पनि ३ बजेपछि भने मतदान केन्द्रहरूमा मतदाताहरूको संख्या बढ्दै गएको जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख रौनियारले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्