रौतहटमा फर्जी मतदान गर्न खोज्ने किशोर पक्राउ
रौतहट । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रौतहटमा अर्काको नाममा मतदान गर्न खोज्ने एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको राजपुर नगरपालिका–९ स्थित बैरिया गाउँ उत्तरमा रहेको यतीम खाना अनाथालय बरिया क मतदान केन्द्रमा अर्काको नाममा मत खसाल्न खोजेको आरोपमा १५ वर्षीय आरजे हायात पक्राउ परेका हुन् । हायात रौतहटको राजपुर–९ निवासी हुन् ।
मतदान केन्द्रमा राजपुर नगरपालिका–९ बरियाका महम्मद आसिकको नाममा मतदान गर्न खोज्दा शङ्का लागेपछि पहिचान जाँच गरिएको थियो । त्यसक्रममा उहाँ फर्जी मत खसाल्न आएको पुष्टि भएपछि प्रहरीको जिम्मा लगाइएको मतदान अधिकृत सुभाष यादवले जानकारी दिनुभयो ।
पक्राउ परेका हायातलाई नियन्त्रणमा राखिएको र निर्वाचन ऐन अनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालले बताउनुभयो ।
यसैबीच, जिल्लाका विभिन्न मतदान केन्द्रबाट यस्तै प्रकृतिका गतिविधिमा संलग्न अन्य दुई–तीन जनालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्