बाजुरामा ४२ प्रतिशत मत खस्यो, शान्तिपूर्ण मतदान जारी

बाजुरा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बाजुरामा मतदान शान्तिपूर्ण रूपमा जारी रहेको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान जिल्लाभर स्वतन्त्र र भयरहित वातावरणमा भइरहेको जिल्ला निर्वाचन अधिकारी भीमबहादुर शाहीले जानकारी दिनुभयो।
उहाँका अनुसार मतदाताहरू निर्धक्क रूपमा मतदान केन्द्रमा पुगेर मतदान गरिरहेका छन् भने अधिकांश स्थानमा उत्साहजनक सहभागिता देखिएको छ। निर्वाचन कार्यालय बाजुराका अनुसार अहिले सम्म जिल्लाभर ३७ हजार ३ सय ५३ अर्थात् करिब ४२ प्रतिशत मत खसेको छ।
कतिपय मतदान केन्द्रमा भने मतदाता संख्या कम भएकाले दिउँसो १ बजे देखिनै मतदान स्थल खाली हुन थालेका छन्। बडिमालिका नगरपालिका–५ स्थित कैलाशेश्वरी मतदान केन्द्रका मतदान अधिकृत रुपकुमार यादवका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदानमा स्थानीय मतदाताले मतदान गरिसकेपछि दिउँसो १ बजेसम्म आइपुग्दा केन्द्रमा मतदाता नआउँदा केही समय खाली बस्नुपरेको बताउनुभयो।
जिल्लाभर कडा सुरक्षा व्यवस्थाका बीच मतदान प्रक्रिया सञ्चालन भइरहेको छ भने मतदान कार्य निर्धारित समयसम्म जारी रहने निर्वाचन कार्यालय बाजुराले जनाएको छ।







प्रतिक्रिया राख्नुहोस्