तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरीमा शान्तिपूर्ण मतदान जारी, १ बजेसम्म ३१ प्रतिशत मत खस्यो

सुनसरी। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सुनसरीमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ।

जिल्लाका सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान प्रक्रिया सुरु भई शान्तिपूर्ण रूपमा अगाडि बढिरहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभएकाे छ ।

प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार सबै मतदान स्थलमा शान्त वातावरणमा मतदान भइरहेको छ।

 दिउँसो १ बजेसम्म जिल्लामा ३१ प्रतिशत मत खसेको छ।

जिल्लामा दुई वटा अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ। तीमध्ये कैदीबन्दीका लागि सुनसरीको रामधुनी नगरपालिका–५ स्थित झुम्का कारागारमा मतदान सम्पन्न भएको छ। 

कारागारमा रहेका १४९ मतदातामध्ये ७७ जनाले मतदान गरेको प्रमुख जिल्ला अधिकारी घिमिरेले  बताउनुभयाे ।  

सुनसरी जिल्लामा कूल ५ लाख ८० हजार ९४५ मतदाता रहेका छन्। चार निर्वाचन क्षेत्र रहेको जिल्लामा १६७ मतदानस्थल र ६२४ मतदान केन्द्र तोकिएका छन् भने दुई वटा अस्थायी मतदान केन्द्र रहेका छन्।

निर्वाचनलाई निष्पक्ष, भयरहित र व्यवस्थित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा निर्वाचन प्रहरी परिचालन गरिएको  छ। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button