नेपाल भारतको धनुषा तथा महोत्तरी सहितका सीमा नाका बन्द
जनकपुरधाम । फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं धाँधलीरहित रुपमा सम्पन्न गर्नका धनुषा–महोत्तरीको नेपाल–भारत सीमा नाकाहरू गएराति देखि बन्द भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमले मतदान प्रक्रिया सम्पन्न नभएसम्म सीमा नाकाबाट आवतजावत पूर्ण रूपमा बन्द गरिइएको जानकारी दिनुभयो ।
धनुषाको जटही तथा महोत्तरीको जलेश्वर सहित प्रमुख सीमा नाकामा आवागमनमा रोक लगाइएको हो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन नेपाल र भारतका सुरक्षा निकायबीच भएको समन्वय तथा सहमतिअनुसार सीमा नाका बन्द गरिएको प्रहरीले जनाएको छ ।
सीमा बन्द भएसँगै सशस्त्र प्रहरी बल (एपीएफ), नेपाली सेना, नेपाल प्रहरीले सीमा क्षेत्रमा निगरानी तथा जाँचलाई थप कडाइ गरेको छ । सीमावर्ती क्षेत्रमा अतिरिक्त जिल्ला भरिमा सुरक्षा व्यवस्था कडा बनाएको छ ।
सीमा नाका बन्द अवधिभर एम्बुलेन्स, दमकल, शववाहन तथा अन्य अत्यावश्यक र मानवीय सेवाबाहेक सबै प्रकारका सवारीसाधन तथा पैदल यात्रुहरूको आवागमनमा पूर्ण प्रतिबन्ध रहने सुरक्षा निकायले जनाएको छ ।
सीमा नाका बन्द भएपनि जनकपुरधामको अन्तगृह परिक्रमामा सहभागी भएका तीर्थयात्रीहरूलाई भारत फर्किनका लागि सहजीकरण गरिनुका साथै नेपाल मतदानका लागि आउनेलाई परिचयपत्रको आधारमा दुवै देशका सुरक्षा निकायको समन्वयमा नेपाल आउन दिइएको छ ।








प्रतिक्रिया राख्नुहोस्