जुम्लाका ८५ वटै मतदान स्थलमा सर्वदलीय बैठक सम्पन्न, तयारी अन्तिम चरणमा
जुम्ला । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन सामाग्री सहित निर्वाचनमा खटिएका कर्मचारीदेखि सुरक्षाकर्मी मतदान स्थलमा पुगिसकेका छन् ।

जुम्लाका सबै मतदान स्थलमा सडकको पहुँच भएका कारण खटिएका कर्मचारीहरू मङ्गलवार नै मतदान स्थलमा पुगिसकेका थिए । सबैभन्दा दुर्गम गुठिचौर गाउँपालिकाको चोत्रा, कनकासुन्दरीको सिप्टी मार्फन, काभ्रा,झ्यारी, चौथा तिला गाउँपालिकाको सुडि,घोडे, तातोपानीको ताम्ती बाह्रगाउँ लगायतका सबै मतदान स्थलमा कर्मचारीदेखि सुरक्षा निकाय पुगिसकेको सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सीनाले बताउनुभयो ।
उहाँका अनुसार जुम्लाका ८५ वटै मतदान स्थलमा सर्वदलीय बैठक सम्पन्न भएका छन् । जुम्लामा ७५ मतदान स्थल र ११० वटा मतदान केन्द्र रहेका छन् । जसमा ८५ वटै मतदान स्थलमा मतदान अधिकृतहरूले सर्वदलीय तथा सर्वपक्षीय बैठक सम्पन्न गरेको जानकारी पठाएको जानकारी दिनुभयो ।
एक जना स्वतन्त्र सहित १० जना उम्मेदवार चुनावी मैदानमा छन् । ९ राजनीतिक दलका पालिका तथा वडा कमिटीका पदाधिकारी तथा सदस्यको सहभागितामा निर्वाचनलाई शान्त, मर्यादित, भयरहित र धाँधलीरहित वातावरणमा निर्वाचन गराउन सबै राजनीतिक दलले सहमति जनाएका छन् ।
साथै मतदान स्थलमा महिला पुरुष, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकहरूका लागि सहज मतदानको व्यवस्थापनका लागि लाइन व्यवस्थापनको समेत काम अधिकांश ठाउँमा भइसकेको छ ।
जुम्लामा ६ सय ५४ जना कर्मचारी निर्वाचनमा खटिएका छन् । अहिलेको चुनावमा सुरक्षा चुनौती नभए पनि मतदान केन्द्रहरूको सुरक्षा संवेदनशीलताका आधारमा सुरक्षा व्यवस्थापन मजबुद बनाइएको प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिनुभयो ।
जुम्लाको मतदाता सङ्ख्या ७१ हजार ७३९ रहेको छ । जसमा महिला ३४ हजार २८० र पुरुष ३७ हजार ४५७ रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्