तपाईँ सुन्दै हुनुहुन्छः

आलोचनापछि कोहलपुर नगर अस्पतालको प्रसूति सेवा पुनः सुचारु

बाँके। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्वास्थ्यकर्मी खटाइएको भन्दै कोहलपुर नगर अस्पतालको प्रसूति सेवा बन्द गर्ने निर्णय २४ घण्टा नबित्दै फिर्ता गरिएको छ।

सोमबार जारी सूचनामा फागुन २२ गतेसम्म प्रसूति सेवा बन्द रहने उल्लेख गरिएको थियो। तर मंगलबार बिहान कोहलपुर नगरपालिकाको आधिकारिक फेसबुक पेजमार्फत नयाँ सूचना जारी गर्दै आवश्यक जनशक्ति व्यवस्थापन गरी सेवा साबिक अनुसार सञ्चालन गरिने जनाएको छ।

निर्णय सार्वजनिक भएपछि सामाजिक सञ्जाल र बजार क्षेत्रमा आलोचना भएको थियो। विभिन्न पेशा–व्यवसायी, शिक्षक तथा नागरिकले प्रसूति जस्तो अत्यावश्यक सेवा बन्द गर्नु गम्भीर त्रुटि भएको बताएका थिए।

यसअघि सेवा अवरुद्ध हुँदा इमरजेन्सी सेवा आवश्यक परेका बिरामीलाई भेरी अस्पताल मा रिफर गरिने जनाइएको थियो।

हाल कोहलपुर नगर अस्पतालमा प्रसूति सेवा पुनः साबिक अनुसार सञ्चालनमा आएको नगरपालिकाले जनाएको छ। २४ घण्टामै निर्णय फेर्नुपरेको घटनाले स्थानीय तहको पूर्वतयारी र निर्णय प्रक्रियामाथि प्रश्न उठाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button