पोखरामा विदेशी पर्यटकले मनाए होली पर्व

पोखरा । पर्यटनको राजधानी पोखरामा यस वर्ष पनि विदेशी पर्यटकले हर्षोल्लासका साथ होली पर्व मनाएका छन् ।
निर्वाचनको संवेदनशीलताका कारण औपचारिक कार्यक्रमहरू स्थगित गरिए पनि फेवाताल किनारमा स्वदेशी तथा विदेशी पर्यटक स्वतःस्फूर्त रूपमा एक आपसमा रङ्ग लगाउँदै होली पर्व मनाएका छन् ।

विशेष गरी फेवातालको किनार, लेकसाइड क्षेत्र, क्याम्पिङ चोक, हल्लनचोक, बसुन्धरापार्क र बाराहीघाट आसपासमा बिहानैदेखि रङ्गिन माहौल देखिएको थियो । हातमा अबिर र रङ्ग बोकेका पर्यटकहरू समूह–समूहमा घुम्दै शुभकामना आदानप्रदान गरिरहेका देखिन्थे ।
चीनबाट आएको एक पर्यटक टोलीले फेवाताल किनारमै होली मनाउँदै खुसी साटासाट गरिरहेको भेटियो । टोलीकी सदस्य सुप्रियाले नेपाल भ्रमणका क्रममा पोखरामै होली मनाउन पाउँदा अत्यन्तै उत्साहित भएको बताउनुभयो ।

“नेपाल हामीलाई धेरै राम्रो लाग्यो । यहाँका प्राकृतिक सौन्दर्य र जनताको आतिथ्यता अविस्मरणीय छ । फेरि नेपाल आउने इच्छा छ,” उहाँले भन्नुभयो । सुप्रियासहित ६ जनाको टोलीले नेपालीहरूसँग होली पर्व मनाउन पाउँदा निकै खुसी व्यक्त गरेका थिए ।
फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व हिमाली तथा पहाडी जिल्लामा परम्परागत रूपमा रङ्ग र लोला खेली मनाउने गरिन्छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप, सद्भाव र उत्साहको सन्देश दिने यो पर्व पछिल्ला वर्षहरूमा पर्यटकीय आकर्षण समेत बन्दै गएको छ ।








प्रतिक्रिया राख्नुहोस्