तपाईँ सुन्दै हुनुहुन्छः

रौतहटमा शङ्कास्पद वस्तु राखेर त्रास फैलाउने प्रयास, नेपाली सेनाद्वारा निष्क्रिय

रौतहट। रौतहटको राजपुर नगरपालिका–५ पानीटंकीदेखि अकोलवा तर्फ जाने भित्री पक्की सडकको बीचभागमा शङ्कास्पद वस्तु राखेर त्रास फैलाउने प्रयास गरिएको पाइएको छ।

गएराति करिब १ः३० बजे फलामको ड्रमभित्र पहेँलो प्लास्टिकको बोरामा राखिएको शङ्कास्पद वस्तु देखिएपछि संयुक्त सुरक्षा टोलीले क्षेत्रलाई नियन्त्रणमा लिएको थियो। आज बिहान करिब १० बजे नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त वस्तुलाई सुरक्षित रूपमा निष्क्रिय पारेको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डीएसपी विष्णु प्रदीप बस्यालले जिल्ला सुरक्षा स्रोतलाई उद्धृत गर्दै डिस्पोजपछि गरिएको जाँचमा बोराभित्र विस्फोटक पदार्थ नभई माटो मात्र रहेको जानकारी दिनुभयो। प्रारम्भिक अनुसन्धानअनुसार घटना ‘होक्स’ भएको निष्कर्ष निकालिएको प्रहरीले जनाएको छ।

निर्वाचनको पूर्वसन्ध्यामा सुरक्षा संवेदनशीलता बढिरहेका बेला यस्ता गतिविधिले सर्वसाधारणमा अनावश्यक त्रास फैलाउन सक्ने भन्दै प्रशासनले अफवाहमा नअल्झिन आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिनुभयो।

यसैबीच नरायणदल गणले प्रत्येक निर्वाचन क्षेत्रमा एक–एक बम डिस्पोजल टोली तैनाथ गरेको जनाएको छ। राजमार्ग सुरक्षाका लागि छुट्टै टोली तयारी अवस्थामा राखिएको प्रशासनले जनाएको छ। शङ्कास्पद वस्तुको सूचना प्राप्त भएको १० देखि ३० मिनेटभित्र घटनास्थल पुग्ने क्षमता नेपाली सेनासँग रहेको पनि प्रशासनले स्पष्ट पारेको छ।

जिल्लाको कुनै पनि स्थानमा शङ्कास्पद वस्तु देखिएमा तुरुन्त नजिकको प्रहरी वा सुरक्षा निकायलाई खबर गर्न प्रशासनले सर्वसाधारणसँग आग्रह गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button