‘हर्षोल्लासका साथ अस्ट्रेलियामा होली मनाइयो’

काठमाडौँ । अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायले मौलिक धर्म संस्कृतिको जगेर्ना गर्दै हर्षोल्लासका साथ ‘फागु पर्व’ मनाएका छन् । हाम्रो क्लब–अस्ट्रेलियाले फागु पूर्णिमाको उपलक्ष्यमा सिड्नीमा आयोजना गरेको फागु उत्सवमा बालबालिका, युवायुवती र वृद्ध वृद्धासमेतको उल्लेख्य सहभागिता थियो ।
सिड्नीस्थित नेपाली समुदायका अगुवा एवम् फागु पर्व आयोजक विवेक सापकोटाका अनुसार सनातन धर्म संस्कृतिको जगेर्ना, नेपालीबीच भाइचाराको सम्बन्ध विस्तार र मनोरञ्जन प्रदान गर्न सहयोग पुर्याउने उद्देश्यले आयोजना गरेको कार्यक्रममा सोचेभन्दा बढी नेपालीको उपस्थिति थियो ।
उहाँले विशेषगरी फागु पर्वसँग सम्बन्धित नेपाली गीतसङ्गीतको तालमा नाचगान गर्दै विशेष खाद्य परिकार ग्रहण गरी पर्व मनाएको नानकारी दिनुभयो । आयोजक सापकोटाले भन्नुभयो, “भौगोलिक रूपमा नेपालबाट टाढा रहेपनि धार्मिक तथा सांस्कृतिक हिसाबले हामीजस्ता परदेशीको मन नेपालमै छ ।
फागु पर्वको उपलक्ष्यमा सिड्नी सहरसहित आसपास बसोबास गर्ने नेपाली समुदायको उपस्थितिमा हर्षोल्लासका साथ फागु खेलेर पर्व मनायौँ । फागु पर्वका माध्यमबाट व्यस्त दैनिकीका बीच अस्ट्रेलियामा बसोबास गर्ने नेपालीलाई एक ठाउँमा ल्याउन सफल भयौँ । अब अर्को वर्ष गुणात्मक रूपमा अझ धेरै नेपालीलाई समेटेर मनोरञ्जनात्मक कार्यक्रमसहित फागु पर्व मनाउने सोच बनाएका छौँ ।” रासस








प्रतिक्रिया राख्नुहोस्