दुई दिवसीय होरी महोत्सव तथा महामूर्ख सम्मेलन शुरु
जनकपुरधाम । पूर्व मिथिला नाट्य कला परिषद्को आयोजनामा जनकपुरधाममा होरी महोत्सव तथा महामूर्ख सम्मेलन २०८२ शुरु भएको छ ।

मधेश प्रदेशका प्रदेश प्रमुख प्राध्यापक डा. सुरेन्द्र लाभ कर्ण र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी लगायतले डम्फु बजाएर दुई दिवसीय महोत्सवको शुभारम्भ गर्नुभएको हो ।
महोत्सवको उद्घाटन गर्दै मधेश प्रदेशका प्रदेश प्रमुख कर्णले मिथिला नाट्य कला परिषद्ले मिथिलाका लोकसंस्कृतिको संरक्षण एवं संवर्द्धनका लागि विगत ३० वर्षदेखि गर्दै आएको प्रयासको सराहना गर्नुभयो । उहाँले गाउँ घरमा होरैया टिम लोप भइरहेको बेलामा यसको संरक्षण गर्नका लागि महोत्सवले भूमिका खेल्ने बताउनुभयो ।

जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले होरी महोत्सव तथा महामूर्ख सम्मेलनको आयोजना गरेर मिथिला नाट्यकला परिषद्ले लोप भइरहेको होरैयाको जगेर्ना गर्दै संस्कृतिको संरक्षणमा ठूलो योगदान गरेको बताउनुभयो ।
मिथिला नाट्य कला परिषद्का अध्यक्ष सुनिल मल्लिकको अध्यक्षतामा शुरु भएको होरी महोत्सव तथा महामूर्ख सम्मेलनमा महासचिव विष्णुकान्त मिश्र निवर्तमान अध्यक्ष परमेश झा सहितकाले बोल्नुभएको थियो ।
महोत्सवमा रघुनाथपुर, कटैया, भोयल, बलहागोठ महिला होरैया समूह, वेला तथा सिग्हासनीका होरैया समूहको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम, द्वितीय तथा तृतीय हुने समूहलाई विभिन्न प्रकारका सामाग्री, शिल्ड, कप तथा पदकसहित पुरस्कृत गरिने मिथिला नाट्यकला परिषद्का महासचिव विष्णुकान्त मिश्रले जानकारी दिनुभयो ।
जनकपुरधाम उपमहानगरपालिका तथा जयनक मन्दिरको सह–आयोजनामा शुरु भएको दुई दिवसीय महोत्सव अन्तर्गत भोली जनकपुरधाममा महामूर्ख सम्मेलनको आयोजना गरेर महामूर्ख सहितका विभिन्न प्रकारका मानपदवी प्रदान गर्ने कार्यक्रम रहेको छ ।







प्रतिक्रिया राख्नुहोस्