नवलपरासीका पत्रकारबिच निर्वाचन आचारसंहिता सम्बन्धी अन्तरक्रिया सम्पन्न
नवलपरासी पश्चिम् । नेपाल प्रेस काउन्सिलको आयोजना तथा नेपाल पत्रकार महासङ्घ पश्चिम् नवलपरासीको संयोजनमा नवलपरासीमा पत्रकारहरूबिच निर्वाचन आचारसंहिता तथा मिडियाको भूमिकाबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

निर्वाचन नजिकिँदै जाँदा मिडियाले पालना गर्नुपर्ने आचारसंहिता, समाचार सम्प्रेषणको मर्यादा, भ्रामक सूचना नियन्त्रण तथा निष्पक्ष र सन्तुलित रिपोर्टिङका विषयमा कार्यक्रम केन्द्रित रहेको थियो।
कार्यक्रममा प्रेस काउन्सिलका प्रतिनिधिहरूले निर्वाचन अवधिमा सञ्चारमाध्यम र पत्रकारले विशेष सतर्कता अपनाउनुपर्ने धारणा राख्दै आचारसंहिता उल्लङ्घनका घटना बढ्न नदिन आग्रह गरे।
सामाजिक सञ्जालमार्फत फैलिने अपुष्ट सूचनाले निर्वाचनको वातावरण प्रभावित पार्न सक्ने भएकाले तथ्यपरक समाचार सम्प्रेषणमा जोड दिइएको थियो।
महासङ्घका पदाधिकारीहरूले पत्रकारहरूलाई पेशागत जिम्मेवारी सम्झाउँदै स्वतन्त्रता र अनुशासन दुवैलाई सँगसँगै अघि बढाउनुपर्ने बताए। प्रेस काउन्सिलका सदस्यहरुले कार्यक्रमको सहजीकरण गरेका थिए ।
कार्यक्रममा जिल्ला न्यायाधीश मुख्य निर्वाचन अधिकृत राजेन्द्र कुमार आचार्यले प्रविधिको विकाससँगै मिडियामा चुनौती, अवसर र सम्भाव्यता सँगै आएको बताउनुभयो । पत्रकार, सञ्चार गृह जस्तो मर्यादित पेशालाई अनुगमन गर्नु नपर्ने अवस्था बनाउनुपर्नेमा आचार्यले जोड दिनुभयो । उहाँले हरेक पेशा मर्यादित नहुँदा कानुनी दायरामा ल्याउने अवस्थामा अभिलेखको रुपमा रहने हुँदा पेशागत जीवनमा असर पर्ने सक्नेमा सतर्कता अपनाउनुपर्ने उल्लेख गर्नुभयो ।
पत्रकार महासङ्घ नवलपरासीका अध्यक्ष केशव पराजुलीले आर्थिक मन्दीको चपेटामा मिडियाहरू रहेको बताउनुभयो । राज्यको स्पष्ट नीति अभाव र स्थानीय तहले लगानी नगर्दा पेशा नै धरासायी बन्न पुग्दा जिल्लाका कयौँ सञ्चार गृहहरू बन्द हुने अवस्थामा रहेको उल्लेख गर्नुभयो । निर्वाचनका समयमा पत्रकारहरू थप संयमित हुनुपर्ने धारणा उहाँले व्यक्त गर्नुभयो ।
सहभागी पत्रकारहरूले पनि निर्वाचन अवधिमा आउने चुनौती, दबाब र त्यसको समाधानबारे आफ्ना धारणा राख्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्