तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन निष्पक्ष बनाउन कसैलाई काखापाखा नगर्न गृहमन्त्री अर्यालको निर्देशन

रौतहट । गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गराउन प्रशासनले कसैलाई पनि काखापाखा नगर्न स्पष्ट निर्देशन दिनुभएको छ ।

फागुन २१ गते हुने निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउने सन्दर्भमा देशका विभिन्न जिल्लाको शान्ति–सुरक्षाको अवस्थाबारे जानकारी लिन शुक्रबार रौतहट सदरमुकाम गौर पुग्नुभएका गृहमन्त्री अर्यालले राजनीतिक अधिकार प्रयोग गर्न सहज वातावरण निर्माण गरिने बताउनुभयो । तर कानुन विपरीत गतिविधि गर्ने जो–कोहीलाई कानुनी दायरामा ल्याइने उहाँले स्पष्ट निर्देशन दिनुभयो ।

सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री अर्यालले राम्रो नियत र सभ्य व्यवहार गर्ने उम्मेदवार तथा राजनीतिक दललाई सहजीकरण गरिने बताउनुभयो । “हामी सहजकर्ताको भूमिकामा छौँ,” उहाँले भन्नुभयो, “तर गलत गर्ने र कानुन मिच्ने कसैलाई पनि छुट दिइँदैन ।”

उहाँले निर्वाचन आयोगको आचारसंहिता उल्लङ्घन गरेमा कारबाही हुने स्पष्ट व्यवस्था रहेको जानकारी दिनुभयो । दण्डहीनताको संस्कृतिको अन्त्य गर्ने उद्देश्यले कुनै पनि प्रकारको उन्मुक्ति नदिइने उहाँले बताउनुभयो ।

केही समूहबाट अनावश्यक आशङ्का र अफवाह फैलाउने प्रयास भएको उल्लेख गर्दै गृहमन्त्री अर्यालले त्यस्ता हल्लामा विश्वास नगर्न आग्रह गर्नुभयो । सरकार र आयोगको तयारी स्पष्ट रहेको तथा निर्वाचन निर्धारित मितिमै शान्तिपूर्ण रूपमा सम्पन्न हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

फागुन २१ गतेका लागि देशभर निर्वाचन केन्द्रित भइसकेको सन्दर्भमा अब अनावश्यक संशय सान्दर्भिक नभएको उहाँले बताउनुभयो । राजनीतिक सुशासनको दिशामा यो निर्वाचन महत्वपूर्ण कदम हुने उहाँको भनाइ थियो ।

यसअघि प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले रौतहट जिल्लामा समग्र रूपमा सुरक्षा तयारी पूरा भएको जानकारी दिनुभयो । सीमा क्षेत्रदेखि अतिसंवेदनशील तथा संवेदनशील मतदान केन्द्रहरूमा उच्च सतर्कताका साथ सुरक्षा प्रबन्ध मिलाइएको र आवश्यक जनशक्ति परिचालन गरिएको उहाँले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी भुसालले जानकारी दिएपछि रौतहटको सुरक्षा व्यवस्था सन्तोषजनक रहेको निष्कर्षसहित गृहमन्त्रीसहितको सुरक्षा टोली सन्तुष्ट भएको बुझिएको छ ।

गृहमन्त्री अर्यालसँगै प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, बलाधिकृत रथी प्रदीप जंग केसी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेश ठाडा मगर, सहसचिव आनन्द काफ्ले, सशस्त्र प्रहरीका डिआइजी विष्णु भट तथा उपसचिव रमा आचार्यलगायतको टोली रौतहट आएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button