निर्वाचन हुनेमा ढुक्क रहन गृहमन्त्री अर्यालको आग्रह
विराटनगर । गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते निर्वाचन हुनेमा ढुक्क रहन सबैमा आग्रह गर्नुभएको छ । निर्वाचन हुन ६ दिन मात्रै रहेकाले अब निर्वाचन नहुने भन्ने कुनै हल्लाको पछि नलाग्न उहाँले आग्रह गर्नुभयो ।

निर्वाचन सुरक्षाबारे स्थलगत भ्रमणका क्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आज विराटनगर आउनुभएका भएका गृहमन्त्री अर्यालले पत्रकारसँगको कुराकानीमा विगतको भन्दा राम्रोसँग निर्वाचन सम्पन्न हुने दाबी गर्नुभयो । निर्वाचनका प्राय सबै काम अन्तिम चरणमा पुगेकाले अब पनि निर्वाचन हुँदैन भन्ने प्रश्नको कुनै अर्थ नरहेको उहाँको भनाई थियो ।
गृहमन्त्री अर्यालले निर्वाचनको सुरक्षा एकीकृत सुरक्षा योजना अनुसार भइरहेको बताउनुभयो । नेपाली सेनाले सुरक्षा योजना अनुसार नै १६५ वटै निर्वाचन क्षेत्रमा मतपेटिका, मतपत्र पुर्याइएको उहाँले बताउनुभयो । सुरक्षा योजना अनुसार केन्द्रमा गृहमन्त्री, प्रदेशमा प्रदेश प्रमुख सचिव र जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा निर्वाचन सुरक्षाको काम भइरहेको गृहमन्त्री अर्यालले बताउनुभयो ।
निर्वाचन आचारसंहिता कार्यान्वयन राम्रोसँग भइरहेको गृहमन्त्री अर्यालले दाबी गर्नुभयो । उहाँले नागरिक सरकार कानुन कार्यान्वयनमा प्रतिबद्ध रहेको बताउनुभयो । आचारसंहिता पालना नगर्नेमाथि कारबाही हुने उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्