जमुनाह नाकामा स्वदेश फर्किने मतदाताको चाप बढ्दो

बाँके । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा रोजगारीका लागि भारतका विभिन्न सहरमा पुगेका नेपालीहरू मताधिकार प्रयोग गर्न स्वदेश फर्कने क्रम बढ्दै गएको छ। बाँकेको सीमावर्ती जमुनाह नाकामा दैनिक रूपमा घर फर्किने नेपालीहरूको आवागमनमा वृद्धि देखिएको छ ।
जमुनाह प्रहरी प्रमुख प्रहरी निरीक्षक किरण मल्लका अनुसार निर्वाचन लक्षित सुरक्षा व्यवस्था कडा पारिएको छ। उहाँले सीमा नाकामा चेकजाँचलाई तीव्र बनाइएको जानकारी दिँदै स्वदेश फर्किने नागरिकहरूको सहज आवागमनका लागि आवश्यक समन्वय गरिएको बताउनुभयो ।
भारतका मुम्बई, गोवा, पुणे, पञ्जाब, हरियाणा लगायतका स्थानमा मजदुरी गर्दै आएका नेपालीहरू काम छोडेरै भए पनि मतदानमा सहभागी हुन गाउँ फर्किरहेका छन्। उनीहरूमा आफ्नो मतमार्फत देशको भविष्य निर्धारण गर्ने उत्साह देखिन्छ ।
मत हाल्न फर्किएका दैलेखका रामबहादुर वलीले देशलाई सक्षम, इमानदार र जनताको पक्षमा काम गर्ने नेतृत्व आवश्यक रहेको बताउनुभयो। “देशमै रोजगारी सिर्जना गर्ने र युवालाई विदेशिनु नपर्ने वातावरण बनाउने नेतृत्व चाहिन्छ,” उहाँले भन्नुभयो। आफ्नो मतको सही सदुपयोग हुनेमा आफू आशावादी रहेको वलीको भनाइ छ।
निर्वाचन नजिकिँदै जाँदा स्वदेश फर्किने मतदाताको सङ्ख्या बढ्नुले लोकतन्त्रप्रतिको विश्वास, नागरिक चेतना र जिम्मेवारीबोध अझ सुदृढ बन्दै गएको सङ्केत गरेको छ। सीमा क्षेत्रमा सुरक्षा सतर्कता र नागरिकको सक्रिय सहभागिताले निर्वाचनलाई शान्तिपूर्ण र सफल बनाउन थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्