प्रतिनिधिसभा निर्वाचनबारे आयोगद्वारा कूटनीतिक नियोगसँग छलफल
काठमाडौँ । यहीँ फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा निर्वाचन आयोगले आज नेपालका लागि कूटनीतिक नियोगका प्रमुख र प्रतिनिधिहरूसँग छलफल गरेको छ ।

छलफलका क्रममा आयोगका सचिव कृष्ण बहादुर राउतले २१ गते हुन गइरहेको निर्वाचनलाई स्वच्छ,निष्पक्ष,भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न आयोगसँग निकट रही आवश्यक सहयोग र समन्वय गर्न कूटनीतिक नियोगका प्रमुख र प्रतिनिधिहरूलाई आग्रह गर्नुभयो ।
मिथ्या र भ्रमपूर्ण सूचनाले निर्वाचन प्रक्रियालाई नै असर पुर्याउने हुनाले सत्य,तथ्य र यथार्थ सूचना बुझी सोही बमोजिम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सूचना सम्प्रेषण गरिदिन समेत उहाँले आग्रह गर्नुभयो ।
छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारी,आयुक्तद्वय डा जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा,आयोगका सचिव कृष्ण बहादुर राउत,प्रवक्ता नारायण प्रसाद भट्टराई लगायत अन्य पदाधिकारी उपस्थित हुनुहुन्थ्यो ।
सो अवसरमा आयोगका सहसचिव ज्ञानहरि घिमिरेले निर्वाचनका लागि आयोगले गरेको हालसम्मको सम्पूर्ण तयारीबारे जानकारी गराउनुभएको थियो ।






प्रतिक्रिया राख्नुहोस्