‘निर्वाचन रिपोर्टिङ र आचारसंहिता’ विषयक अभिमुखीकरण सम्पन्न
वीरगञ्ज । नेपाल पत्रकार महासङ्घको आयोजनामा वीरगन्जमा ‘निर्वाचन रिपोर्टिङ र आचारसंहिता’ विषयक एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

निर्वाचनको समयमा सञ्चारकर्मीले पालना गर्नुपर्ने व्यावसायिक मर्यादा र आचारसंहिताको महत्वबारे छलफल गर्न आयोजित सो कार्यक्रममा सहभागी वक्ताहरूले सत्य, तथ्य र निष्पक्ष सूचना सम्प्रेषणमा जोड दिनुभयो ।
कार्यक्रमका पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले निर्वाचनका बेला जनतामा सूचनाको चासो र अपेक्षा बढी हुने उल्लेख गर्दै सञ्चार माध्यमलाई जिम्मेवार बन्न आग्रह गर्नुभयो ।
आचारसंहिता आफैँले पालना गर्ने नियम भएको बताउँदै दाहालले यसलाई पालना गरेमा मात्र यसको सान्दर्भिकता रहने र बेवास्ता गरेमा यो कागजको खोस्टो सरह हुने टिप्पणी गर्दै बाहाँले निर्वाचनलाई निष्पक्ष, भयरहित र धाँधलीरहित बनाउन सञ्चार क्षेत्रको भूमिका अपरिहार्य रहेको बताउनुभयो ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ पर्साका निर्वाचन अधिकृत मधुसुदन आचार्यले प्रचलित कानुनले दिएको अधिकार र सीमा बुझेमा मात्रै पनि आचारसंहिताको उल्लङ्घन नहुने स्पष्ट पार्दै आचारसंहिता निर्वाचनको समयमा मात्र नभई वर्षको ३६५ दिन नै लागू हुनुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव अशोक तिवारीले पत्रकारिताको मर्यादा कायम राख्न महासङ्घले अभियान नै चलाएको जानकारी दिँदै विगतमा वीरगन्जमा पत्रकारिताकै कारण उत्पन्न केही संवेदनशील परिस्थितिको स्मरण गराउँदै पत्रकारहरूलाई संयमित र सचेत रहन आग्रह गर्नुभयो ।
नेपाल पत्रकार महासङ्घकी केन्द्रीय उपाध्यक्ष नितु पण्डितको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मधेस प्रदेश अध्यक्ष श्याम बन्जाराले गर्नुभएको थियो । कार्यक्रममा पर्सादेखि सप्तरीसम्मका महासङ्घका पदाधिकारी, केन्द्रीय सदस्यहरू र स्थानीय सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्