मुगुमा निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न प्रशासनको निर्देशन
मुगु । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय मुगु ले निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न निर्देशन जारी गरेको छ।
कार्यालयले निर्वाचन आचारसंहिता–२०८२ प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै स्थानीय तह, जनप्रतिनिधि, सरकारी कर्मचारी तथा राजनीतिक दलहरूलाई सचेत गराएको जनाएको छ। प्रशासनद्वारा जारी सूचनामा सरकारी कार्यालयका सवारी साधन कुनै पनि राजनीतिक गतिविधि, प्रचार–प्रसार, सभा, बैठक वा कार्यक्रममा प्रयोग गर्न नपाइने स्पष्ट पारिएको छ।
त्यसैगरी जुलुस, आमसभा, कोणसभा वा भेलाजस्ता कार्यक्रम आयोजना गर्नुपरेमा अनिवार्य रूपमा स्थानीय प्रशासनबाट अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ। कार्यक्रम गर्न चाहने उम्मेदवार वा राजनीतिक दलले मिति, समय, स्थान र मार्ग खुलाएर कम्तीमा २४ घण्टा अगावै जिल्ला प्रशासन कार्यालयमा निवेदन पेश गर्नुपर्ने प्रशासनले जनाएको छ।
प्रशासनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गराउन सबै पक्षलाई आचारसंहिता पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ। आचारसंहिता विपरीत गतिविधि गरेमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी पनि दिइएको छ।
निर्वाचन अवधिभर शान्ति, सुव्यवस्था तथा निष्पक्ष प्रतिस्पर्धा कायम राख्न प्रशासनले सबै राजनीतिक दल, उम्मेदवार र नागरिक समाजसँग सहकार्य गर्न आह्वान गरेको छ।






प्रतिक्रिया राख्नुहोस्