तपाईँ सुन्दै हुनुहुन्छः

प्रधान सेनापति टी २० कपको उपाधि डिएभी स्कुललाई 

भक्तपुर । सैनिक आवासीय महाविद्यालय सल्लाघारीको आयोजनामा भएको १७ औँ संस्करणको प्रधान सेनापति अन्तर स्कुल टी २० कपको उपाधि डिएभी स्कुल जाउलाखेलले जितेको छ । नेपाल प्रहरी स्कुल साँगालाई ३० रनले पराजित गर्दै डिएभी स्कुलले उपाधि जितेको हो । 

भक्तपुरमा आज भएको फाइनल खेलमा पहिले ब्याटिङ गरेको डिएभीले ९ विकेटको क्षतिमा १०६ रन बनाएको थियो । १०७ रनको लक्ष्य पछ्याएको नेपाल पुलिस स्कुलले १३ ओभरमा सबै विकेट गुमाएर ७६ रन मात्र जोड्न सक्यो । 

उपाधि जितेको डिएभीले नगद एक लाखसहित ट्रफि प्राप्त गरेको छ । दोस्रो भएको नेपाल पुलिस स्कुलले नगद ५० हजारसहित ट्रफिमा चित्त बुझाएको छ । उपाधि जित्ने टिमलाई बलाधिकृत रथी प्रदीप जंग केसीले शिल्ड, ट्रफि पुरस्कार प्रदान गर्नुभयो  । 

बलाधिकृत रथी केसीले यस्ता प्रतियोगिताले खेलाडी जन्माउन सहयोग पुगेको बताउँदै नेपालमा क्रिकेट खेलको विकासका लागि यस्ता प्रतियोगिताले ठुलो सघाउ पुर्‍याउने बताउनुभयो । सोही अवसरमा उप विजेता लगायतलाई उपरथी सन्तोष वल्लभ पौडेल, सहायक रथी प्रकाश बहादुर चन्दले ट्रफि पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । 

कार्यक्रममा बोल्दै सैनिक आवासीय महाविद्यालयका प्रमुख व्यवस्थापक अधिकृत शिव पौडेलले महाविद्यालयले शैक्षिक गतिविधिसँगै खेलकुद लगायत अतिरिक्त क्रियाकलापमा त्यतिकै ध्यान दिइएको जनकारी दिनुभयो ।

प्रमुख व्यवस्थापक पौडेलका अनुसार, ११ विद्यालयका १२ टिमको सहभागिता रहेको प्रतियोगिता १० दिनसम्म चलेको थियो । प्रतियोगितामा १९ वटा खेल खेलाइएको थियो ।  

सोही समारोहमा सैनिक आवासीय महाविद्यालय अन्तर विद्यालय भलिबल प्रतियोगिता २०८२ (छात्र तथा छात्रा समूह) का विजेता तथा उपविजेता टोलीहरूलाई क्रमशः ३०,००० र २०,००० नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।

सो प्रतियोगितामा छात्रतर्फ हिम रश्मि हाई स्कुल विजेता तथा सैनिक आवासीय महाविद्यालय उपविजेता बनेका थिए । त्यसैगरी छात्रातर्फ सैनिक आवासीय महाविद्यालय विजेता र सेन्ट लरेन्स कलेज उपविजेता बनेका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button