तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा १ हजार ४ सय ८२ अस्थायी मतदाता

बाजुरा । बाजुरामा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १ हजार ४८२ जना अस्थायी मतदाता कायम गरिएको छ। जिल्ला निर्वाचन कार्यालय बाजुराले आसन्न निर्वाचनलाई लक्षित गर्दै अन्तिम अस्थायी मतदाता नामावली प्रकाशन गरेको हो।

प्रकाशित नामावलीमा सरकारी कर्मचारी तथा सुरक्षाकर्मीहरू समावेश छन्। निर्वाचनसम्बन्धी कानुनी व्यवस्थाअनुसार अस्थायी मतदाता नामावलीमा सरकारी कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा तथा कैदी, निर्वाचनमा खटिएका कर्मचारी–सुरक्षाकर्मी, सरकारको स्वीकृतिमा सञ्चालित वृद्धाश्रममा रहेका व्यक्ति तथा आयोगले तोकेका अन्य व्यक्तिहरूको नाम समावेश हुने व्यवस्था छ।

तर, बाजुरामा कैदीबन्दी र वृद्धाश्रममा रहेका व्यक्तिहरू नहुँदा अस्थायी मतदाता नामावलीमा सरकारी कर्मचारी र सुरक्षाकर्मी मात्रै रहेको जिल्ला निर्वाचन अधिकारी भीम बहादुर शाहीले जानकारी दिनुभयो। उहाँका अनुसार अस्थायी मतदाताका लागि जिल्लामा एक मात्र मतदान केन्द्र तोकिएको छ। उक्त केन्द्र मार्तडी स्थित डिभिजन वन कार्यालयमा रहनेछ। यो मतदान केन्द्र निर्वाचनमा नखटिएका कर्मचारी तथा सुरक्षाकर्मीका लागि निर्धारण गरिएको हो। निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले भने अस्थायी मतदाता नामावलीमा नाम समावेश भएमा आफू खटिएको सम्बन्धित केन्द्रबाट मतदान गर्न पाउने व्यवस्था रहेको छ।

अस्थायी मतदाताले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ मात्र मत हाल्न पाउनेछन्। प्रत्यक्ष तर्फका उम्मेदवारलाई मतदान गर्न नपाइने व्यवस्था रहेको जिल्ला निर्वाचन कार्यालयले स्पष्ट पारेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button