टोखा–छहरे सुरुङमार्ग निर्माण नेता पोखरेलको प्राथमिकतामा
काठमाडौँ। काठमाडौँ क्षेत्र न-५बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्याशी बन्नुभएका नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता ईश्वर पोखरेलले टोखा–छहरे सुरुङ मार्ग निर्माणलाई पहिलो प्राथमिकतामा राख्नु भएको छ ।
सार्वजनिक गर्नुभएको प्रतिबद्धतापत्रमा उहाँले लिच्छविकालीन राजधानी हाँडीगाउँको पुरातात्त्विक तथा सांस्कृतिक पक्षको अध्ययन गरी पुनरुत्थान र सांस्कृतिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने योजना अघि सार्नुभएको छ ।
बुढानीलकण्ठ मन्दिरलाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने, बुढानीलकण्ठ–वागद्वार–चिसापानी–गोसाईंकुण्ड पदमार्ग निर्माण तथा तामाङ बस्तीमा सामुदायिक ‘होमस्टे’ विस्तार गर्ने उहाँले योजना प्रस्तुत गर्नुभएको छ ।
टोखाको सपनतीर्थ र चण्डेश्वरी मन्दिरलगायत धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र उपयोगमार्फत पर्यटकीय गन्तव्य विकास गर्ने तथा टोखाको चाकुलाई अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्ने योजना पनि उल्लेख गरिएको छ ।
प्रतिबद्धतापत्रअनुसार हाँडीगाउँ, टुँडालदेवी, धरमपुर, बुढानीलकण्ठ, धापासी र टोखाका सांस्कृतिक जात्रा, स्थानीय कला, संस्कृति तथा तामाङ र नेपाल भाषाको प्रवर्द्धन र संरक्षणमा उहाँले जोड दिनुभएको छ ।
काठमाडौँ महानगरपालिका, बुढानीलकण्ठ र टोखा नगरपालिकामा खानेपानी, ढल निकास, फोहरमैला व्यवस्थापन,सार्वजनिक यातायात तथा उद्यान निर्माणलाई पनि नेता पोखरेलले प्राथमिकतामा राख्नुभएको छ ।रासस








प्रतिक्रिया राख्नुहोस्