तपाईँ सुन्दै हुनुहुन्छः

गौर साम्प्रदायिक घटना: २० जनाविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान सुरु

रौतहट । गौरमा दुई समुदायबीच भएको साम्प्रदायिक झडप तथा आगजनी घटनामा संलग्न रहेको आरोपमा प्रहरीले २० जनाविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार फागुन ९ गते गौर नगरपालिका–६ सवगाढा क्षेत्रमा भएको तोडफोड तथा आगजनी घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिई ‘आपराधिक उपद्रोह’ तथा ‘आगजनी’ कसुरअन्तर्गत अनुसन्धान थालिएको हो ।

अनुसन्धानका क्रममा प्रहरीले आज थप दुई जनालाई नियन्त्रणमा लिएको छ । सवगाढाका शुभ नारायण साह र समिर मियाँलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बस्यालले जानकारी दिनुभयो । उहाँका अनुसार घटनामा संलग्न २० जनाविरुद्ध म्याद थप गरी मुद्दा दर्ता गरिएको छ भने अन्य संलग्न व्यक्तिको खोजी जारी छ ।

गत फागुन ७ गते साँझ उत्पन्न विवादले उग्र रूप लिएपछि सवगाढा क्षेत्र तनावग्रस्त बनेको थियो । फागुन ८ गते छ बुँदे सहमति भए पनि फागुन ९ गते बिहानैदेखि पुनः तोडफोड र आगजनीका घटना भएपछि दिउँसो १ बजेदेखि जिल्ला प्रशासन कार्यालय रौतहटले कर्फ्यु आदेश जारी गरेको थियो ।

तीन दिनपछि आज कर्फ्यु हटाइएको छ । आज बिहान साढे १० बजे सद्भाव र्‍याली निकालेर कर्फ्यु हटाइएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिनुभयो । उहाँले सामाजिक सद्भाव कायम राख्न तथा अफवाह नफैलाउन सबै पक्षलाई संयमित र जिम्मेवार बन्न आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button