तपाईँ सुन्दै हुनुहुन्छः

फागुन २१ को निर्वाचनका लागि बाँकेमा तयारी तीव्र, २४०९ कर्मचारी खटिँदै

बाँके । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बाँकेमा तयारी तीव्रता पारिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय, नेपालगन्जले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन आवश्यक व्यवस्थापनलाई अन्तिम रूप दिन थालेको जनाएको छ ।

सहायक निर्वाचन अधिकृत लाल बहादुर कार्कीका अनुसार प्रारम्भिक चरणमै निर्वाचन आयोगको तालिमअनुसार उम्मेदवारहरूले उम्मेदवारी दर्ता गरी प्रचारप्रसारलाई अघि बढाइरहेका छन् । अब प्रशासनिक र प्राविधिक तयारीलाई चुस्त बनाउने काम भइरहेको उहाँले बताउनुभयो।

जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा गरी कुल २ हजार ४ सय ९ जना कर्मचारी परिचालनको तयारी पूरा हुँदैछ। निर्वाचन क्षेत्र नं। १ का १४१ मतदान केन्द्रका लागि ८४६ जना कर्मचारी खटाइनेछ । क्षेत्र नं. २ मा १२४ मतदान केन्द्र र २ अस्थायी मतदान केन्द्रका लागि ७४४ जना कर्मचारी परिचालन गरिनेछ। त्यस्तै, क्षेत्र नं. ३ मा १३५ मतदान केन्द्र र १ अस्थायी मतदान केन्द्रका लागि आवश्यक कर्मचारीसहित थप ९ जना स्वयंसेवक समेत खटाइने सहायक निर्वाचन अधिकृत कार्कीले बताउनु भयो ।

निर्वाचन सामग्री व्यवस्थापन पनि सँगसँगै अघि बढिरहेको छ। मतपत्र आउने क्रम सुरु भइसकेको छ भने छिट्टै प्याकिङ कार्य सुरु गरिनेछ । मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई नमुना मतदानसम्बन्धी तालिम दिन थालिएको छ । कार्कीले भन्नुभयो “नमुना अभ्यासले कर्मचारीलाई मतदान प्रक्रियामा आत्मविश्वास र सहजता प्रदान गर्छ ।,”

निर्वाचनलाई मर्यादित र पारदर्शी बनाउन आचारसंहिताको अनुगमन कडाइका साथ भइरहेको कार्कीको भनाई छ । निर्वाचन प्रक्रिया चुनौतीपूर्ण भए पनि बाँकेमा शान्तिपूर्ण र व्यवस्थित रूपमा मतदान सम्पन्न हुनेमा कार्यालय विश्वस्त देखिएको छ ।

सहायक निर्वाचन अधिकृत कार्कीले लोकतन्त्रको महत्त्वपूर्ण पर्वमा सक्रिय सहभागिता जनाउन सबै मतदातालाई अपिल गर्नुभएको छ । “फागुन २१ गतेको मतदान केवल अधिकार मात्र होइन, जिम्मेवारी पनि हो,” उहाँले भन्नुभयो, “आउनुहोस्, उत्साहपूर्वक मतदानमा सहभागी भई लोकतन्त्रलाई अझ बलियो बनाऔँ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button