वीरगन्जमा कर्फ्यु, हट्यो, निषेधाज्ञा जारी
वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जमा जारी गरेको अनिश्चितकालीन कर्फ्यु आदेश हटाई निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला सुरक्षा समितिको निर्णय अनुसार आज बिहान ९.४५ बजेबाट जारी गरिएको अनिश्चितकालिन कर्फ्यु आदेश वीरगञ्जको अवस्था सामान्य बन्दै गएपछि आज साँझ ४.३० बजे देखि हटाइएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताउनुभयो ।
स्थानीय प्रशासनद्वारा आज साँझ जारी विज्ञप्तिमा वीरगन्जको परिस्थिति पूर्ण रुपमा सामान्य भई नसकेको वर्तमान अवस्थालाई समेत मध्यनजर गरी वीरगन्ज महानगरपालिकाको पूर्वमा बाइपास रोड, पश्चिममा रानिघाट पुल, उत्तरमा पावरहाउस चोक र दक्षिणमा घण्टाघर चोक भित्रको एरियामा आज साँझ ६ बजे देखि भोलि बिहान ८ बजे सम्मका लागि कुनै किसिमको भेला गर्न, सभा जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८को दफा ६ को ३ (क) बमोजिम निषेधाज्ञाको आदेश जारी गरिएको छ ।
उक्त आदेशको उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गरिने कुरा प्रशासनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा आज बिहान जारी कर्फ्यु आदेश पछि समग्र शान्ति सुरक्षाको अवस्था विश्लेषण गर्दा परिस्थिति क्रमशः सुधार हुँदै गएको देखिएको र सम्बद्ध पक्षहरूसँग आज भएको सर्वपक्षीय बैठकमा भएको निर्णय समेतको आधारमा कर्फ्यु आदेशलाई निरन्तरता दिनपर्ने नदेखिएकाले कर्फ्यु आदेश हटाइएको उल्लेख छ ।
आइतबार साँझ सवारी पार्किंङ्गको सामान्य विषयलाई लिएर विवाद हुँदा श्रीपुरमा झडप भएको थियो । सामान्य विषयमा भएको विवादले झडप भएपछि आज पुनः प्रदर्शन र झडपको सम्भावना देखेर स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो ।
कर्फ्यु हटेसँगै वीरगञ्ज बजार क्षेत्रको जनजीवन सामान्य बन्दै गएको छ ।








प्रतिक्रिया राख्नुहोस्