तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा निर्वाचन लक्षित सर्वदलीय छलफल, आचारसंहिता कार्यान्वयनमा जोड

जुम्ला । जुम्लामा निर्वाचन लक्षित सर्वदलीय छलफल गरिएको छ । 

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सभ्य, शान्त, मर्यादित र धाँधली रहित वातावरणमा सम्पन्न गर्न सर्वदलीय छलफल गरिएको हो । 

छलफलमा सहभागी सरोकारवालाले भने जुम्लामा निर्वाचन आचारसंहिता पालनामा हुन नसकेकाले कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् । 

नागरिक समाज जुम्लाका अध्यक्ष राज बहादुर महतले निर्वाचनमा बालबालिकाको प्रयोग भइरहेको, जनप्रतिनिधि आफ्नै पालिकामा प्रचारमा गइरहेको भए पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सूक्ष्म अनुगमन नगरेको गुनासो व्यक्त गर्नुभयो । 

फागुन ४ गते अघि २५ जना भन्दा बढी भेला हुन नपाउने, सडक जाम गरेर चुनावी गतिविधि गर्ने, बालबालिकाको प्रयोग गर्ने लगायतका आचारसंहिता विपरीतका कार्य हुँदा प्रहरी प्रशासन तथा मुख्य निर्वाचन अधिकृतको कार्यालयले बोल्न नसकेको उल्लेख गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष नौरते नेपालीले जुम्लामा आचारसंहिता कागजमै सीमित भएकोले पूर्ण पालनामा राजनीतिक दल र प्रहरी प्रशासनको ध्यानाकर्षण गराउनुभयो । निर्वाचन शिक्षालाई प्रभावकारी बनाउने, आचारसंहिता पालनामा बेवास्ता गर्ने दलहरूलाई स्पष्टीकरण समेत नसोधेर छुट दिइएको उल्लेख गर्नुभयो  ।  स्थानीय तहका जनप्रतिनिधिले सरकारी सवारीको दुरुपयोग गरी निर्वाचन प्रचारमा गइरहेकाले तत्काल रोक्नु पर्नेमा जोड दिनुभयो । 

जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तले हालसम्म निर्वाचन आचारसंहिता पालनाको अवस्था सन्तोषजनक रहेको बताउनुभयो । उहाँले हालसम्म औपचारिक लिखित उजुरी नआएका कारण दलहरूलाई स्पष्टीकरण नसोधे पनि मौखिक ध्यानाकर्षण गराइएको जानकारी दिनुभयो  ।  

निर्वाचन आचारसंहिता पालनाबारे हालसम्म तीन पटक सर्वदलीय छलफल तथा अन्तरक्रिया भइसकेकाले अब पनि आचारसंहिता विपरीत गतिविधि भएमा सिँधै कारबाही गरिने समेत जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जुम्लामा निर्वाचन आचारसंहिता पालनादेखि शान्ति सुरक्षाको व्यवस्था निकै मजबुत बनाइएको बताउनुभयो । फागुन २१ गतेका दिन ढुक्क भएर मतदान गर्ने वातावरण बनाइएको उल्लेख गर्नुभयो । 

फागुन १८ गतेदेखि सुरक्षाकर्मीदेखि कर्मचारीलाई मतदान स्थलमा खटाइने प्रजिअ पौडेलले जानकारी दिनुभयो । 

जुम्लाका ११० मतदान केन्द्र र मतदान स्थल ८४ वटा मध्य ५४ वटा मतदान केन्द्र अति संबेदनशील रहेकाले सामान्य, संवेदनशील र अति संवेदनशील गरी ती तहमा वर्गीकरण गरी सुरक्षा व्यवस्थापन गरिएको उहाँको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button